हिमा गाउँपालिका–६ खलढुंगा गाउँ पहिरोको जोखिममा

दिलमाया शाही ।
जुम्ला, २७ असार (जागरण) । हिमा गाउँपालिका–६ खलढुंगा गाउँका नागरिकहरु पहिरोको जोखिममा परेका छन । बर्षा शुरु भएपछि पहिरोको त्रासले गाउँबाट नै अन्यन्त्र जाने गरेका हुन ।
स्थानीय कृष्ण खत्री (अधिकारी) ले निद्रामा भएको बेला घरको छानामा ढुंगा आउने गरेको भन्दै रातिनै बालबच्चा बोकेर छिमेकीका घरमा जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।
पहिरोको जोखिमका कारण बस्ती स्थानान्तर गर्नका लागि गाउँ कार्यपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा निर्णय गरेको थियो ।
उक्त गाउँमा बाढी पहिरोको जोखिम अध्ययन गरी बस्ती नै स्थानान्तर गर्नका लागि गाउँकार्यपालिकाको निर्णय र आवश्यक बजेटसहित सघन सहरी विकास तथा भवन निर्माण कार्यालय जुम्लामा निवेदन समेत दिएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो ।
बस्ती सार्ने बारे सरोकारवाला निकायले ध्यान नदिएको उहाले बताउनुभयो । असार पहिलो सातामा लगातार परेको बर्षाले हिमा गाउँपालिका–६ खलढुंगा र दलित बस्तीमा पहिरोको जोखिम बढेपछि १६ घरधुरीका एक सय १७ परिवार विस्थापित भएका छन् ।