पंख बहादुर शाही ।
सुर्खेत, ३० असार (जागरण) । प्रदेश सरकारले उद्योग सम्बन्धी कार्यविधि नबनाउँदा सुर्खेत वीरेन्द्रनगरमा स्थापना भएको औद्योगिक ग्राम अलपत्र परेको छ ।
केन्द्र सरकारले १५ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरि संचालनको लागि प्रदेश सरकालाई हस्तान्तरण गरेपनि प्रदेश सरकारको वेवास्थाले अलपत्र परेको हो ।
लघु उद्यमीलाई व्यवसाय विस्तार गर्न सजिलोका लागि चार ब्लकमा ६२ वटा कोठा रहेको औद्योगिक ग्राम निर्माण गरिएको छ ।
२०७६ जेठमा तत्कालिन उद्योग, वाणिज्य तथाआपूर्ती मन्त्री मातृका यादवले कर्णाली प्रदेश सरकारलाई निर्माणाधिन लघु औद्योगिक ग्राम हस्तान्तरण गर्नुभएको थियो । निर्माण सम्पन्न भएको लामो समयसम्म प्रदेश सरकारले कार्यविधि बनाउन चासो दिएको छैन । जसले गर्दा उक्त ग्राम सञ्चालनमा आउन सकिरहेको छैन् ।
यता, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुचना अधिकारी शेरबहादुर रोकायाले कार्यविधि बनाउने काम शुरु भएको बताउनुभएको छ ।
मन्त्रालय अन्तर्गतकै उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले कार्यविधि बनाउनका लागि प्रदेशको औद्योगिक व्यवसाय ऐन नै नबनेकाले कार्यविधि बनाउने बाटो नखुलेकोले अलमलम पारेको बताउनुभयो ।
कर्णाली प्रदेश स्तरिय औद्योगिक ग्राम वीरेन्द्रनगर स्थित घरेलु तथा साना उद्योग विकास समितिको परिसरमा निर्माण गरिएको छ ।