कोरोना भाइरसबाट मृत्यु भएका परिवारलाइ एक लाखका दरले रकम प्रदान

सुर्खेत, ३० असार (जागरण) । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गरेको छ ।
पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमित मध्ये ३ सय ४२ जनाको मृत्यु भइसकेको छ ।
यस अघि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
जस अन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका गरि १ सय ३२ जनालाई राहत उपलब्ध गराएको र अन्यलाई पनि केहि दिनमा नै रकम वितरण गर्ने प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले जानकारी दिनुभयो ।
हाल सम्म ३ सय ४५ जनाका परिवारले क्षतिपुर्तीको माग सहित प्रदेश सरकारलाई निवेदन पेश गरेका छन् ।
पिसिआर परिक्षणबाट कोरोना पुष्टी भएको पत्र, हकवालाको नाता प्रमाणीत, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी, रकम दावी कर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उलब्ध गराएको छ ।
अन्य व्याक्तिहरुको पनि तथ्याङ्क संकलनको क्रममा रहेकाले छिटै सबैले राहत रकम पाउने मन्त्री नेपालीले बताउनुभयो ।