सुर्खेत, ३१ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी अािर्थक बर्षका लागि २३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले प्रादेशिक गौरवसहितका महत्वपूर्ण योजनाहरुमा बजेट विनियोजन गर्ने गरी बजेट ल्याउन लागेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
केन्द्रीय सरकारले कर्णाली प्रदेशलाई पठाउने शसर्त अनुदान र प्रदेश आफैले राजश्व संकलन गर्ने लक्ष्यका साथ बजेटको तयारी गरेको उहाँले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा अहिले राजश्व संकलनको अवस्था कमजोर रहेकोले आन्तरिक आय स्रोत करिब ५० करोडको मात्र अनुमान गरेको छ ।
संघीय सरकारले प्रदेश सरकारलाई दिने वित्तिय समानिकरण अनुदान ९ अर्ब १३ करोड, राजश्व बाँडफाँडबाट प्राप्त करिब ५ अर्ब ५१ करोड र सशर्त अनुदानबाट ६ अर्ब ६१ करोड र प्रदेशको आन्तरिक स्रोतबाट करिब ५० करोड र चालु आर्थिक वर्षको बाँकी करिब ५० करोड गरी करिब २३ अर्बको बजेट ल्याउने तयारी गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले प्रदेश सरकारले बजेट छर्ने, अनुदान शिर्षक र साना साना रकम छुट्टाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी बजेट ल्याउने बताउनुभयो ।
उहाँले प्रदेशमा आफ्नै संरचना गराएर बजेट कार्यान्वयन गर्ने भन्दै अबदेखि असार लागिसकेपछि विकासका नाममा गरिने खर्च बन्द गर्ने बताउनुभयो । उहाँका अनुसार अब दशँै तिहार सकिएलगत्तै बजेट कार्यान्वयनमा जोड दिईनेछ ।