जुम्ला, ३१ असार (जागरण) । हिमाली क्षेत्रको सबैभन्दा ठूलो खानेपानी आयोजना जुम्लाको धौलिगाड टेन्डरमा गएको छ ।
लामो प्रयासपछि विद्युतीय खरिद प्रणालीबाट आयोजनाको टेन्डर आह्वान गरिएको हो ।
जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाको समन्वयमा टेन्डर आह्वान गरिएको सङ्घीय खानेपानी आयोजनाले जानकारी दिएको छ ।
चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाका गरी आठ हजार दुई सय ९२ धारा बनाउने आयोजनाका लागि एक अर्ब २६ करोड आठ लाख रुपैयाँमा टेन्डर आह्वान गरिएको आयोजना प्रमुख महेश न्यौपानेले जानकारी दिनुभयो ।
जुम्ला सदरमुकाममा खानेपानी अभाव भइरहेको समयमा चन्दननाथसहित तीन पालिकाका ४४ हजारभन्दा धेरै जनसङ्ख्या लाभान्वित हुनेछन् ।