वीरेन्द्रनगरमा योग विज्ञान शिविर शुरु

सुर्खेत, २४ फागुन (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजदेखि बृहत योग विज्ञान शिविर सुरु गरेको छ ।

शिविर उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला

 

नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम ‘एक टोल एक सचेतक व्यक्ति’ कार्यक्रम अन्तर्गत ‘नियमित योग, व्यवस्थित आहारबिहार हाम्रो चाहाना स्वस्थ वीरेन्द्रनगर’ भन्ने मुल नारासहित शिविर गरेको हो ।

भेरी अञ्चल आयुर्वेद औषधालय सुर्खेत र पतंजली योग समिति सुर्खेतसँगको समन्वयमा शिविर सुरु गरिएको हो । बिहान ५ बजेदेखि ८ बजेसम्म योग शिविर संचालन गरिएको छ ।

शिविरको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले योग सवैको लागि उपयोगी भएकाले यसलाई नियमित गरी स्वस्थ जिवन जिउन सवैलाई आग्रह गर्नुभयो ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख (मेयर) देवकुमार सुवेदीले स्वस्थ रहनका लागि योग, आहार विहारमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख (उपमेयर) मोहनमाया ढकालले योग विज्ञान भएको र यसले निरोगीहरु जन्माउने भएकाले नियमीत योग गर्न आवश्यक रहेको बताउनु भयो । ढकालले सवैले नियमित रुपमा योग गर्न आवश्यक रहेको बताउनु भयो ।
वीरेन्द्रनगरको रंगशालामा भएको शिविरमा नगरपालिकाका १६ वटै वडाका स्थानीय नागरिकहरुको सहभागिता छ । शिविर पाँच दिनसम्म सञ्चालन हुनेछ ।