रेशम वलीको मौलिक तीज गीत ‘जमिनै थरर-२’ सार्बजनिक ( भिडियाेसहित हेर्नुहाेस् )


सुर्खेत, ८ साउन ।
गत बर्षको तीजमा निकै लोकप्रिय बनेको ‘जमिनै थरर’ गीतको भाग २ अन्तर्गत ‘रिमझिमे झरी’ बोलको गीत सार्वजनिक भएको छ ।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको मौलिक भाका रहेको उक्त गीत शुक्रबार सुर्खेतमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । गायक तथा सर्जक रेशम वलीले उक्त निर्माण गरेको उक्त गीतको भिडियो आफ्नै यूट्यू च्यानल ‘रेशम वली’ बाट सार्वजनिक गरिएको छ । बराहताल मूभी हाउसको प्रस्तुती रहेको उक्त गीतको शब्द सिर्जना रेशम वलीले नै गर्नुभएको हो भने लय कबिराज गिरी र वलीको रहेको छ । गीतको एरेन्ज झलक संगीतमले गर्नुभएको हो ।
गीतमा सुर्खेती चेली मौलिक गायिकाहरु टिका पुन र सुनिता बुढा क्षेत्रीले आवाज दिनुभएको छ । गीतको भिडियो राष्ट्रिय स्तरमै ख्याति कमाएका चन्द्र मन्दिरले निर्देशन गर्नुभएको छ भने लक्ष्मी गिरी, ममता खड्लुक र कबीराज गिरीको अभिनयमा मुख्य भूमिका रहेको छ । अर्जुन सापकोटाले छायांकन गरेको उक्त भिडियोको भिडियो सम्पादन अंकित खाण ठकुरीले गर्नुभएको हो । गीत लोक तथा मौलिक लयमा छ भने सुर्खेती कलाकारहरुको संयोजन देखिएको छ । गीतको भिडियो छायांकनदेखि सम्पादन पनि सुर्खेतमै गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा बुटेलेका कलाकारदेखि नव प्रतिभाको संगमले गीतलाई थप आकर्षक बनाएको छ । गीत सार्वजनिक गर्नेक्रममा सर्जक वलीले तीजका नाममा तडक भडक र मौलिकता हराउने खालका गीतहरु आइरहेको अहिलेको अवस्थामा आफ्नो गीतले मौलिकता जोगाउने बताउनुभयो । ‘तीजका नाममा अहिले बजारमा संस्कृती नै विगार्ने खालका गीतहरुका माझमा मौलिकलाई जोगाउने उद्देश्यले मेरो गत बर्षको गीत जमिनै थररलाई निरन्तरता दिएको छु’ सर्जक वलीले भन्नुभयो‘मौलिकता चाहाने र साँचिकै तीजलाई तीज जस्तै गरी मनाउन स्रोता दर्शकहरुले मेरो गीतलाई मनपराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’