आजदेखि विश्व फुटबलको महाकुम्भ

काठमाण्डौं, ३१ जेठ । आज रातिदेखि विश्व फुटबलको कुम्भमेला ’२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता’ सुरु हुँदैछ। रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ ।
६ क्षेत्रबाट भएका छनोट प्रतियोगिताबाट छानिएका उत्कृष्ट ३२ टिमबीच विश्वकपमा प्रतिस्पर्धा हुँदैछ । ३२ स्थानका लागि कुल २ सय ९ टिमले सहभागिता जनाएका थिए । जहाँ ८ सय ६८ खेलमा २४ सय ५४ गोल भएर थिए, जसले ३२ टिमको भाग्यको फैसाला भएको थियो ।
अब यी ३२ टिमबीच २१ संस्करणको उपाधिका लागि एक महिना प्रतिस्पर्धा चल्नेछ। ८ समूहका रहेका ४/४ टिमबीच समूह चरणमा प्रतिस्पर्धा हुनेछ । समूह चरणबाट छानिएका २/२ टिम अन्तिम १६ मा पुग्नेछन् । त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी कुल ६४ खेल हुनेछ र एक विजेता छानिनेछ ।
आज साँझ हुने उद्घाटन समरोहमा ब्रिटेनका गायक रोबी विलियम्सले आफ्नो प्रस्तुती दिनुहुनेछ । उहाँलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिना र ब्राजिलका पूर्व फुटबलर रोनाल्डोले साथ दिनुहुनेछ । उद्घाटन समारोह आधा घन्टा चल्नेछ ।
राति सवा ८ बजे सुरु हुने समारोह आधा घण्टा चल्नेछ । लगत्तै रसिया र साउदी अरेबियाबीचको खेल सुरु हुनेछ । उद्घाटन समारोहमा रंगशालामा ८० हजार दर्शक उपस्थित हुनेछन् ।
रसिया विश्वकपका लागि ३२ टिमका कुल ७ सय ३६ खेलाडी सहभागी हुँदैछन् । यी मध्ये २ सय खेलाडी दोस्रो पटक खेल्दैछन् । जसमा सन् २०१४ को विश्वकप खेलेका १ सय ८६ र सन् २०१० को विश्वकप खेलेका ६१ खेलाडी छन् । २१ खेलाडी सन् २००६ को विश्वकप खेलेका छन् ।
एक खेलाडी भने २००२ मा जापान र कोरियामा भएको विश्वकप खेलेका खेलाडी पनि छन् । उहाँ हुनुहुन्छ मेक्सिकोको डिफेन्डर राफा मार्क्युज। उहाँ मैदान उत्रिएमा पाँच वटा विश्वकप खेल्ने चौथो खेलाडी हुनुहुनेछ ।
इंग्ल्यान्डको राष्ट्रिय टिममा परेका सवै खेलाडी आफ्नै देशको लिग खेल्नुभएको छ। यस्तै रसियाको टिममा रहेका २३ मध्ये २१ खेलाडी आफ्नै देशमा लिग खेल्छन् । साउदी अरेबियाको टिममा पनि २० खेलाडी घरेलु लिग खेल्ने खेलाडी छन् । यता सेनेगल र स्विडेनको राष्ट्रिय टिमका सवै खेलाडी विदेशी लिग खेल्ने छन् । बेल्जियम, आइसल्यान्ड, नाइजेरिया र स्विट्जरल्यान्डको टिममा घरेलु लिग खेलेका १/१ खेलाडी मात्र परेका छन् । रसिया विश्वकपका लागि राष्ट्रिय टिममा परेका ७४ प्रतिशत खेलाडी युरोपियन लिग खेलिरहेका छन् ।
मेक्सिकोका राफा मार्क्युज र अर्जेन्टिनाका जाभियर मास्चिरानो हाल विश्वकपमा बढी खेल खेल्ने खेलाडी हुन् । दुवैले १६/१६ खेले खेलेका छन्। जस्तै लिओनल मेसीले १५ खेल, मेसुट ओजिलले १४ खेल खेल्नुभएको छ । थोमस मुलर, म्यानुयल नेउर, सर्जिओ रामोस र क्रिस्टियानो रोनाल्डो विश्वकपका १३/१३ खेलमा मैदान उत्रिइसक्नुभएको छ ।