सुर्खेत विमानस्थल विस्तार: पत्रमा १५ दिन, व्यवहारमा अनिश्चितकालीन रोक्का,

सुर्खेत, १० साउन ।
सुर्खेत नागरिक उड्डयन कार्यालयले २०७७ पुस ९ गते सुर्खेत विमानस्थल विस्तारका लागि लगत संकलन गर्ने भन्दै १५ दिनका लागि प्रभावित क्षेत्रको घर जग्गा लगायतका कार्य रोक्क गर्न नगरपालिका, मालपोत र नापी कार्यालय लगायतलाई पत्र पठायो ।
पत्रमा ६ सय मिटर उत्तर, ४ सय मिटर दक्षिण, २५ मिटर पूर्व र २ सय मिटर पश्चिम क्षेत्रमा लगत संकलनको काम हुने भएकाले नयाँ संरचना बनाउन, जग्गा खरिद बिक्री गर्न, हक हस्तान्तरण गर्न, धितो बन्धक लगायतका कुनै पनि कार्य सिफारिस नगर्न पत्राचार गरिएको थियो । कार्यालयले १५ दिनका लागि मात्रै रोक्का राख्न पत्र काटेको भएपनि ८ महिना पुगीसक्दासम्म फुकुवा भएको छैन । लगत संकलनको काम समेत सुरु नै भएको छैन । संघीय र कर्णाली प्रदेश सरकारको लागत साझेदारीमा सुर्खेत विमानस्थल विस्तारको योजनाका लागि गत आर्थिक बर्षमा छट्याइएको १ अर्ब रुपैँया काम नभएपछि फ्रिज भएको छ ।


तत्काल फुवा गर्न स्थानीयको माग
यता स्थानीयले सुर्खेत विमानस्थल विस्तारका लागि भन्दै रोक्का गरिएको क्षेत्र फुकुवा गर्न स्थानीयवासीले माग गरेका छन् ।
सुर्खेत विमानस्थल विस्तार प्रभावित नागरिक सरोकार समितिले आइतबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई भेटेर यथाशिघ्र फुकुवा गर्न माग गरेको हो । प्रमुख जिल्ला अधिकारी रिजालले मुख्यमन्त्री, विमानस्थल प्रमुखसंग परामर्श गरेर मात्र जवाफ दिने बताउनुभयो । समितिका अध्यक्ष टिकाराम आचार्यले विमानस्थल विस्तारको काम अघि नबढाइएको तर नागरिकका घर जग्गा विनासित्ति रोकुवा राखेको भन्दै तत्काल फुकुवा गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गर्नुभयो ।
एकले अर्काेलाई देखाएर पन्छाउदै सरकारी निकाय
पत्रमा १५ दिनका लागि भनेर स्पष्ट लेखिएको भएपनि मालपोत नापी लगायतका कार्यालयले भने ८ महिना वितिसक्दा पनि रोक्का नै रहेको बताउने गरेका छन् । उक्त क्षेत्रको कारोबार गर्ने भए सम्बन्धित निकायले फुकुवाको चिठी लेख्नु पर्ने जवाफ दिन्छन् । रोक्का राख्न पत्र काटेको नागरिक उड्डयन कार्यालयका प्रमुख उमेश कुमार पन्थी भने पत्रमै १५ दिन उल्लेख गरेकाले फुकुवाको पत्र लेखिरहन आवश्यक नपर्ने भन्दै टार्दै आउनुभएको छ । अघोषित रुपमा अनिश्चितकालका लागि रोक्का भएको क्षेत्र फुकुवाका लागि लिखित पत्र बुझाउन गएका सरोकार समितिका पदाधिकारीलाई प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयले रोक्का नगरेरकाले कार्यालय फुकुवा गर्न नमिल्ने जवाफ दिनुभयो ।
स्थानीयले भने विमानस्थल विस्तारको काम पनि अघि नबढाइएको तर १५ दिनका लागि भनेर गरिएको रोक्का अझै नखुलाइएको भन्दै बिरोध जनाउदै आएका छन् ।