वहुमत सदस्यको साथ पाएपछि उपेन्द्र यादवले भनेः छिट्टै सरकारमा जान्छौँ

काठमाडौँ, ११ साउन (जागरण) । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी अब छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ ।
आधिकारिकताको विवाद टुंगिएसँगै नेता यादवले सोमबार यस्तो प्रतिक्रिया दिनुभएको हो ।
निर्वाचन आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गराएसँगै जसपाको विवाद लगभग टुंगिएको छ ।
आज आयोगमा पुगेका संचारकर्मीहरुसँग नेता यादवले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्ने बताउनुभएको छ ।
निर्वाचन आयोगमा उपस्थित भएका ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरेका थिए । यससँगै जसपामा ठाकुर पक्ष कमजोर देखिएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई समर्थन दिएका ठाकुर पक्षका कतिपय नेताहरु समेत यसबीचमा यादव समूहमा उभिएका छन् । यादव समूहले भने ओली सरकारलाई विश्वासको मत दिएको थिएन ।