सुर्खेत, १२ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले यो पटक बजेट कार्यान्वयन समयमै गर्नेगरी काम गर्ने बताएको छ ।
विगतका बर्षहरुमा बजेट कार्यान्वयन सुस्थ भएको भन्दै आलोचना हुन थालेपछि यो बर्षदेखि समयमै बजेट कार्यान्वयन गर्न तालिका नै बनाएर काम गरिने बताएको हो ।
विगतका बर्षहरुका कोरोना महामारी र कर्मचारी अभावका कारण बजेट कार्यान्वयन हुन नसकेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयले यो पटक असोज १५ बाटै बजेट कार्यान्वयन शुरु हुने बताएको छ ।
अख्तियारी दिने सिस्टमले बजेट कार्यान्वयनमा ढीलाई भएको भन्दै त्यो सिस्टम खारेज गरिएको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यता, कर्णाली प्रदेश सरकारले मन्त्रालय प्रयोजनका लागि पानी किन्न ४२ लाख बजेट विनियोजन गरेको छ ।
सरकारका आठ वटा मन्त्रालयका लागि जारको पिउने पानी र ट्यांकी पानीको ४२ लाख १२ हजार रकम विनियोजन गरिएको हो ।
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ वार्षिक बजेट कार्यक्रम अनुसार मन्त्रालयमा पिउने पानीका लागि जार खरिद गर्न ८ लाख १८ हजार रकम विनियोजन गरिएको छ भने बाँकी ३३ लाख ९४ हजार रुपैयाँ ट्यांकीको पानी खरिदका लागि विनियोजन गरिएको हो ।
यो रकम विनियोजित रकम मन्त्रालयले तिनुपर्ने नियमित धारा महसुल बाहेकको रकम हो ।
सरकारका आठ वटा मन्त्रालयमध्ये जलस्रोत तथा उर्जा विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जारको पिउने पानी ट्यांकर पानी खरिदका लागि बजेट छुट्याएका छैनन् ।