राज कुमार भाम
मुगु, १३ साउन ।
मुगु जिल्लाको विकट वस्ती सोरुगाउँ पालिका वडानं ८ आँसीधारा गाउँका २८ घरधूरीका समुदायले एक दशक पछि घर घरमा खाने पानीका धारा पाएका छन् ।
घर घरमा खानेपानी धारा बनेपछि स्थानीयवासी हर्षित भएका छन् । अब आधा घण्टा टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता हटेको छ । गाउँमा रहेको एउटा मात्र धाराबाट पानी पिउदै आएकोमा २०६४ सालमा उक्त धाराको पाइप बिग्रिएको थियो । उक्त पाइपलाइन नबन्दा आँसीधाराबासीले आधा घण्टाको बाटो हिडेर पानी बोकेर ल्याउथे । वन तथा वातावरण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा घर घरमा धारा बनाइएको हो । धारा निर्माणपछि स्वच्छ पानी पिउन पाएका छन् । २४ लाख ६५ हजार लागतमा हाल दुई किलो मिटर टाढावाट खानेपानी ल्याइएको छ ।
‘गाँउमा पुरानो धाराको मुल सुकेपछि ६४ सालबाट गाँउको नजिकै रहेको नाउलो(कुवा)बाट पानीको प्यास मेटाउदै आएकाथियौ’, स्थानीय सिता रोकाय भन्छिन,‘कुवा सानो भएकाले गाँउलेहरु पालो कुरेर पानील्याउनु पथ्र्यो त्यसयता धारा बनाई दिन तत्कालिन गाविस, जिविस, माननिय, एनजिओ सबैलाई गुहार्यौँ, तर कसैले सुनुवाई गरेनन ।’
विगतमा नाउला कै फोहोर पानी पिउदा झाडा पखालाका लगायतका रोग लाग्ने गरेको स्मरण गर्दै अब उक्त समस्याबाट मुक्त हुने भन्दै रोकायले क्यापस परियाजनालाई धन्यवाद दिन्छिन् ।
१३ वर्ष पछि आगनमा खानेपानीका धारा बनेपछि गाँउलेहरुको मुहारमा खुशी छाएको छ । गाँउमा रहेको विद्यालयमा पनि सहज भएको छ ।