जुम्लाका आठवटै स्थानीय तहको एक अर्ब बजेट फ्रिज

जुम्ला, १४ साउन (जागरण) । गत आर्थिक वर्ष २०७७–७८ मा जुम्लाका आठवटै स्थानीय तहको गरी एक अर्बबढी बजेट फ्रिज भएको छ ।
संघ र प्रदेश सकारबाट स्थानीय तहले प्राप्त गरेको बजेट मध्य एक अर्ब १३ करोड ५९ लाख २६ हजार रुपैँया खर्च गर्न नसकेपछि फ्रिज भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार गत आ.ब.मा पुँजीगततर्फ कूल दुई अर्ब ३१ करोड ३२ लाख ६० हजार रुपैँया जुम्लाका स्थानीय तहहरुलाई प्राप्त भएको थियो । जसमध्य गत असार मसान्तसम्म एक अर्ब ४७ करोड ७३ लाख २९ हजार अर्थात् ६३ दशमल ८६ प्रतिशत रकम मात्रै खर्च भएको छ ।
यस्तै जुम्लामा आर्थिक वर्ष २०७७÷०७८ को राजश्व लक्ष्य भन्दा बढी संकलन भएको छ ।
आन्तरिक राजश्व कार्यालय जुम्लाले गत आबमा ३२ करोड ९८ लाख ९८ हजार अर्थात १२९ प्रतिशत राजश्व संकलन गरेको हो ।
जुम्लामा लक्ष्य भन्दा ७ करोड अर्थात २९ प्रतिशत बढी राजश्व संकलन भएको छ । यो रेर्कड धेरै आर्थिक वर्षयताकै सबैभन्दा बढी भएको आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत यूवराज बस्नेतले बताउनुभयो ।
आन्तरिक कर परिक्षण तथा अनुसन्धानलाई बढाउँदा र करको दायरालाई विस्तार संगै गाउँगाउँमा करशिक्षा दिएकन कारण लक्ष्यभन्दा बढी राजश्व संकलन भएको कर अधिकृत बस्नेतको भनाई छ ।