मनकला हत्या प्रकरण: आरोपित दुई दाजुभाइमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

रुकुम पश्चिम, १५ साउन (जागरण) । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आरोपमा पक्राउ परेका दुई नाबालकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ ।
जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
अनुसन्धानका लागि प्रहरीले समय माग गरे अनुसार अदालतले हत्या आरोपमा पक्राउ परेका नाबालक दुई दाजु–भाइलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी धुब्रकुमार श्रेष्ठले बताउनुभयो ।
आफ्ना वस्तु भाउलाई घाँस हाल्न गोठ गएकी मनकलाको सोमबार साँझ शव फेला परेको थियो । उक्त हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मनकलाका माइला जेठाजु केशरबहादुर खड्काका २ नाबालक छोरालाई पक्राउ गरेको छ ।
सुरुमा जेठाजु केशरलाई पक्राउ गरिएपनि उनको घटनामा संलग्नता नदेखिएको भन्दै प्रहरीले रिहा गरिसकेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनिहरुले हत्या गरेको स्वीकारेको र घटनामा प्रयोग भएको खुर्पा र मनकलाले लगाएका गर–गहना पक्राउ परेका नाबालकको घरबाट बरामद गरिएको प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो ।
केही समय पहिले हत्यामा संलग्न भनिएका भतिजहरुलाई काकीले चोरीको आरोप लगाउनुभएको थियो ।
हत्या आरोपमा मनकलाका जेठाजुका १५ वर्षीय र ११ वर्षीय छोरालाई प्रहरी पक्राउ गरेको छ । उनीहरुविरुद्ध कर्तब्य ज्यान तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तर हत्यामा संलग्न भनिएका दुवै १८ वर्ष मुनिका भएकाले धेरै कानुनी जटिलता रहेको प्रहरीको भनाइ छ ।