सुर्खेत, १७ साउन (जागारण) । प्रदेश लोकसेवा आयोगले आगामी पुस महिनासम्म रिक्त दरबन्दी पदपुर्ति गर्नका लागि विज्ञापन आह्वान गर्ने तयारी थालिएको बताएको छ ।
त्यसका लागि ऐन संशोधन आवश्यक रहेको भन्दै ऐन संशोधनका लागि प्रदेशसभामा पठाइको हो ।
आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले ऐन संशोधन पश्चात आगामी पुस महिनासम्म विज्ञापन आव्हान गरिने बताउनुभयो ।
राजनीतिक किचलोका कारण प्रदेश सभा नबस्ने भएपछि अध्यादेशबाट भएपनि ऐन संशोधन गरिदिन भनिएको तर सरकारले सुनुवाई नगरेको उहाले बताउनुभयो ।
अहिले कर्णालीमा कति दरबन्दी खाली छ भन्ने तथ्याङ्क संकलनको काम करिब ५० प्रतिशतमा पुगेको उपाध्यायले बताउनुभयो ।
कर्णालीका कर्मचारी अभावले विकास र प्रशासनिक काम हुन नसकेको बताउने प्रदेश सरकारले बताउँदै आएको छ । तर आयोगलाई आवश्यक ऐन संशोधन गर्न सरकारले वास्था गरेको छैन ।
कर्मचारी पदपुर्ती गर्दै आएको लोक सेवाको संरचना पनि प्रदेशगत बनाइएपनि अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा ढिला गरी लोक सेवा आयोग गठन गरिएको थियो । तर आयोग गठन भएपनि लोकसेवा आयोग सम्बन्धीको ऐन संशोधनमा सरकारले चासो नदिएको हो ।
कर्णालीमा माथिल्लो तहका कर्मचारी र प्राविधिक कर्मचारीको अभाव बढी रहेको प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार कर्णालीमा एक सय ६८ वटा सङ्गठन संरचना र करिब २ हजार ६ सय बढी कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।
यद्यपि, स्वकिृत दरबन्दीमध्ये करिब ८ सय भन्दा बढी दरबन्दी रिक्त रहेको प्रमुख सचिव गणेश प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
अहिले सम्म ७९ वटा स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको विवरण आईसकेको छ ।