सुर्खेत, १७ साउन ।
सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मल्लेख गाउँपालिकाको बीचमा पर्ने कर्णाली नदिमा डुँगा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन् । दुई जना डुँगा चालक सहित १० जना चढेको डुँगा आइतबार विहान दश बजेतिर कर्णाली नदिमा पल्टिएको हो ।
दुर्घटनामा २ जना घाइते भएका छन । ४ जनाले भने सकुशल ज्यान जोगान सफल भएका छन् । उनीहरु सबै मोहन्याल गाउँपालिका वडा नं. ३ मलेखका वासिन्दा हुन् । इलाका प्रहरी कार्यालय सोल्टाका प्रमुख सई राजेन्द्र कुमालका अनुसार नदिमा डुबेका ४ जना मध्य २२ बर्षकी धनसरी सलामीको शव फेला परेको छ । बर्ष २० की पार्वती थापा, बर्ष २२ की उर्मिला सलामी र उनकी दश दिनकी छोरी प्राप्ती सलामी भने वेपत्ता भएको उनले जानकारी दिए । मृतक धनसरीका २४ दिनका छोरा कर्ण सलामीको र अर्का ४ महिनाका बालक सुशान्त आले घाइते भएका छन् । उनीहरु मध्य सलामीको स्वास्थ्यचौकी सोल्टामा र आलेको सुर्खेतको बिजौरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । बिजौरामा उपचार गराइरहेका आलेकोको भने उपचार पछि स्वास्थ्य अवस्था सामान्य रहेको चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिए ।
आलेकी आमा हसनाले आफ्नो बच्चालाई नियमित खोप लगाए गएको पाण्डेले बताए ।
भौगोलिक हिसाबले नजिक पर्ने भएपछि कैलालीको मोहन्याल गाउँपालिकाका माथिल्लो भेगका वासिन्दाहरु स्वास्थ्य, शिक्षा लगायतका सेवाहरु लिन सुर्खेतको चौकुने गाउँपालिका आउने गरेका छन् । तर बिचमापर्ने कर्णाली नदिमा पुल नहुँदा जोखिम मोलेर काठको डुँगाबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ ।