शिक्षा क्षेत्र सुधारका कार्यक्रम संचालन

नन्द कठायत ।
सुर्खेत, १८ साउन (जागरण) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सामुदायिक विद्यालयमा पढाउने जनप्रतिनिधि र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका छोराछोरीलाई प्रोत्साहन दिने नीति लिएको छ ।
गत आर्थिक बर्षदेखि नै यस्तो नीति ल्याएको नगरपालिकाले यो आर्थिक बर्षमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ ।
शिक्षक र जनप्रतिनिधिहरुबाटै यसको शुरुवात हुँदा आम नागरिकमा सामुदायिक विद्यालयप्रतिको विश्वस्नीयता बढ्ने नगरपालिकाले बताएको छ । अहिले अधिकांस शिक्षक र जनप्रतिनिधिहरुका छोराछोरी सामुदायिक विद्यालयमै पढिरहेको नगरपालिकाले जनाएको छ ।
सामुदायिक विद्यालयमै पढाउनुपर्छ भन्ने बाध्यकारी नीयम नरहेको भन्दै उहाले भविश्यमा सामुदायिक विद्यालयप्रतिको विश्वनियता घट्न नदिन जनप्रतिनिधि र शिक्षकहरुले अभियान शुरु गरेको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रमा धनी र गरिब विचको खाडल भएको भन्दै उहाँले कर्णाली रैबारसँग भन्नुभयो ।
यतीमात्र नभएर शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले अन्य कार्यक्रमहरु पनि संचालन गरिरहेको उहाले बताउनुभयो ।
यस्तै कर्णाली प्रदेशका अन्य स्थानीय तहहरुले पनि शिक्षामा गुणस्तर कायम गर्न विभिन्न योजना तथा कार्यक्रमहरु संचालन गरेका छन ।
पालिकाहरुले आफ्नो परिवेश र ठाउँअनुसारका स्थानीय पाठ्यक्रम तयारदेखि शैक्षिक गुणस्तर बढाउन विभिन्न योजनाहरु कार्यान्वयन गर्न थालेका हुन ।
जुम्लाको हिमा गाउँपालिकाले शिक्षा ऐन र कार्यविधि नै बनाइ पढ्न नपाएका टुहुरा, असाय, असक्त, अपाङ्गता बालबालिकाहरुको लागि आवासीय विद्यालय सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले अहिले आवासिय विद्यालयमा रहेका ५५ जना विद्यार्थिको निशुल्करुपमा पठनपाठन गर्दै आएको बताउनुभयो ।
यस्तै, हुम्लाको नाम्खा गाउँपालिकाले पनि शैक्षिक सुधारका लागि प्राविधिक र भाषा शिक्षामा जोड दिएको छ ।
गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले पालिका भर एउटा मात्रै मावि र सबै एउटै समुदायको बाहुल्याता रहेकाले मातृ भाषामा जोड दिइएको बताउनुभयो । उहाँले भाषा आयोगसँग छलफल गरी अहिले स्थानीय पाठ्यक्रम निमार्ण भइरहेको समेत जानकारी दिनुभयो ।
अध्यक्ष लामाका अनूसार भोट भाषामा पाठ्यक्रम निमार्ण भइरहेको छ । स्थानीय सरकारहरुले शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न विभिन्न कार्यक्रमहरु संचालन गरेपनि गत सालदेखि कोरोना महामारीका कारण शिक्षा क्षेत्र थलिएको छ ।
शिक्षामा परेको प्रभाव कम गर्न नयाँ गुणस्तरिय विधिहरु अबलम्बन गरिनुपर्ने शिक्षासँग सरोकार राख्ने व्यक्तीहरु बताउछन ।