जग्गा पहिचानमै अल्झियो सुर्खेत मेडिकल कलेज


सुर्खेत, २२ साउन ।
सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण गर्न कार्यालय नै स्थापना गरेको तीन बर्ष भयो । तर आयोजना भने जग्गा पहिचानमै अल्झिएको छ ।
मेडिकल कलेजको पूर्वाधार विकासका लागि २०७६ जेठमा वीरेन्द्रनगरमा ‘सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास कार्यालय’ स्थापना भएको थियो । कार्यालय स्थापना भएको तीन बर्ष वितेपनि अझैसम्म मेडिकल कलेज कहाँ बनाउने भन्ने टुँगो लागेको छैन ।
कार्यालयले जग्गा पहिचानबारे वीरेन्द्रनगर ११, १२ र १घ को भूभागमा पर्ने गाग्रेताल क्षेत्रका सामुदायिक वन र कालागाउँस्थित प्रदेश अस्पतालगरी दुई वटा विकल्प प्रस्ताव गरेको र त्यस बारे सरकारले ठोस निर्णय नगर्दा जग्गा पहिचानमै ढिलाइ भएको आयोजना प्रमुख हेमकुमार ढकालले बताउनुभयो ।
मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माणका लागि कम्तीमा ५० विगाहा जग्गा आवश्यक पर्ने प्रारम्भिक अनुमान छ ।
कर्णाली प्रदेश सरकारले कालागाउँस्थित कर्णाली प्रदेश अस्पताललाई नै शिक्षण अस्पतालका रूपमा आवश्यक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न सहमति दिएको थियो । तर, संघीय सरकारले प्रदेशको उक्त प्रस्तावमाथि पनि कुनै निर्णय दिएन । जसले गर्दा मेडिकल कलेज पूर्वाधार निर्माणका लागि बर्सेनि आउने बजेट समेत खर्च हुन सकेको छैन ।
अब प्रस्ताव गरिएको वन क्षेत्रको जग्गा प्राप्ति गर्ने योजनामा रहेको सुर्खेत कार्यालय प्रमुख ढकालले बताउनुभयो ।
आयोजनाका लागि सरकारले विगत दुई आर्थिक बर्षमा पुँजीगत तर्फ दश–दश करोड रुपैँया विनियोजन गरेको थियो । उक्त बजेट खर्च गर्न नसकेपछि चालु आर्थिक बर्षम भने पाँच करोड मात्रै विनियोजन गरेको छ । तर काम गर्न सकेमा बजेटको अभाव नहुने आयोजनाका प्रमुख ढकालले बताउनुभयो । यो आयोजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पर्दछ । आयोजनाका लागि विश्व विद्यालय अनुदान आयोग मार्फत बजेट आउने भएकाले खर्च गर्न सकेमा थप बजेट प्राप्त हुने ढकाललको भनाइ छ ।