सुर्खेत, २४ साउन (जागरण) । सुर्खेत वीरेन्द्रनगर १२ मा भुमी सम्बन्धी समस्या समाधान आयोग पुनःस्थापना संघर्ष समिति गठन गरिएको छ ।
वडा नम्बर १२ को भावर टोल विकास समितिका अध्यक्ष जित बहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले आयोग पुनःस्थापना गर्ने निर्णय गरेको हो ।
जस अन्तरगत भिम बहादुर शाहीको संयोजकत्वमा एक सय १२ सदस्यीय भुमी समबन्धी समस्या समाधान आयोग पुनःस्थापना संघर्ष समिति गठन गरिएको हो । जसको सहसंयोजकमा रगुबिर विक रहनुभएको छ ।
भुमी सम्बन्धी समस्या समाधान आयोगले भुमीहिन नागरिक र सुकुम्बासीका समस्या समाधान गर्ने अन्तिम तयारी गरिरहेका बेला शेर बहादुर देउवा नेतृत्वको सरकारले आयोग विगठन गर्ने निर्णय गरेको भन्दै आयोग पुनःस्थापना गर्न संघर्ष समिति गठन गरिएको छ ।
समितिले नागरिकको भुमी सम्बन्धीको अधिकारलाई कुठाराघात गर्न नपाइने भन्दै विभिन्न संघर्षका कार्यक्रमहरु गर्ने जनाएको छ ।
अहिलेसम्म वीरेन्द्रनगरका १० वटा वडामा संघर्ष समिति गठन गरिएको छ भने बाँकी वडाहरुमा पनि समिति गठन गर्ने तयारी गरिएको छ ।
आयोग विघठन गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ भने आयोग पुनःगठन गर्न माग गर्दै सर्वोच्चमा समेत मुद्धा दायर भइसकेको छ ।