कर्णालीका ग्रामीण क्षेत्रका नागरिकहरु गुणस्तरिय स्वास्थ्यको पहुँच बाहिर

नन्द कठायत ।
सुर्खेत, २५ साउन (जागरण) । कर्णाली प्रदेशका ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको पहुँचमा गुणस्तरिय स्वास्थ्य सेवा पुग्न सकेको छैन ।
विषेशगरी विकट क्षेत्रका नागरिकहरु सामान्य उपचार पाउनबाट समेत बञ्चित हुनु परेको छ भने गुणस्तरीय प्रजनन् स्वास्थ्यको सेवा पनि नभएको हो ।
‘बर्थिङ सेन्टर’ व्यवस्थित नहुदा र भएका स्वास्थ्य संस्था पनि टाढा हुदा महिलाहरु घरमै असुरक्षित रूपले सुत्केरी हुन बाध्य छन् ।
भरपर्दो स्वास्थ्य संस्थाहरु कर्णालीका विकट गाउँहरुमा पुग्न नसक्दा विशेषगरी कालीकोट, मुगु, हुम्ला, डोल्पा र जाजरकोटका गर्भवती र सुत्केरी महिलाहरु जोखिममा पर्ने गरेका छन् ।
सरकारले प्रसूति सेवासहित स्वास्थ्य सेवा निःशुल्क दिएको दाबी गरे पनि कर्णालीमा यातायातको व्यवस्था नहुनु, दरबन्दीअनुसारका स्वास्थ्यकर्मीको नहुनु, आवश्यक औषधि र उपकरणको अभाव अहिले पनि कायमै छ ।
कालिकोटको पलाता गाउँपालिका वडा नम्बर ७ की फुल्थुङगा बमले कर्णाली प्रदेशका दुर्गम क्षेत्रका महिलाहरुले ‘बर्थिङ सेन्टर’ नहँुदा गर्भवती अवस्थामा आइलाग्ने जटिलताको कारण मृत्यु समेत हुने गरेको बताउनुभयो ।
हुम्लाको अदानचुली गाउँपालिका २ की लालपुरा सुनारले पनि ग्रामीण क्षेत्रका अधिकांस ठाउँमा भरपर्दो बर्थिङ सेन्टर र जिल्लामा सुविधायुक्त अस्पताल नहुँदा महिलाहरुको ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो ।
उहाँले कतिपय ठाउँमा ‘बर्थिङ सेन्टर’ भएपनि आवश्यक स्वास्थ्य सामग्री नहुँदा गर्भवती र सुत्केरी महिलाहरुले समस्या भोग्नु परेको गुनासो गर्नुभयो ।
यता, प्रदेश सरकारले भने पछिल्लो समय स्वास्थ्यको पहुँच गाउँ–गाउँसम्म पुर्याएको दाबी गरेको छ ।
प्रदेश सरकारले आमा र बच्चाको लागि आमा सुरक्षा तथा मातृ नवजात शिशु स्वास्थ्य कार्यक्रम लागु गरेको प्रदेशको सामाजिक मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताउनुभयो ।