सुर्खेत, ३० साउन (जागरण) । केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।
उपचारका लागि अस्पताल जानेमध्ये जाने २० देखि ३० प्रतिशतमा भाइरल ज्वरोको लक्ष्यण देखिएकोले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका हुन ।
हरेक वर्ष साउन, भदौ महिनामा भाइरल ज्वरोका बिरामी बढ्ने गरेका भए पनि गएको दुई वर्ष फाट्टफुट्ट रुपमा बाहेक भाइरल ज्वरोका बिरामी देखिएका थिएनन् । तर यो वर्ष ज्वरोका बिरामी बढेका छन ।
भाइरल ज्वरोसँगै कोरोनाबाट समेत बच्नको लागि सतर्क रहन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले कर्णाली रैबार मार्फत सुझाव दिनुभयो ।
निषेधाज्ञा खुकुलो भएको र मानिसहरुले जनस्वास्थ्यको मापदण्डको पूर्ण रुपमा पालना नगरेकाले भाइरल ज्वरोका बिरामी बढेका हुन सक्ने उहाँको भनाइ छ । भाइरल ज्वरो र कोरोनाको लक्ष्यण मिल्दो जुल्दो हुने भएकाले आफूलाई समस्या हुने बित्तिक्कै सकेसम्म छुट्टै बस्न र परीक्षण गरेर आवश्यक भएमा उपचार गर्न उहाले सल्लाह दिनुभयो ।
एउटै लक्ष्यण हुने भएकाले कतिपयले कोरोना भइसक्दा पनि भाइरल ज्वरो मात्रै होला भनेर परीक्षण नगर्दा त्यसले जटिलता ल्याउन सक्ने भन्दै उहाले श्वास फेर्न गाह्रो भएमा, अक्सिजन कम भएमा, उच्च ज्वरो आएमा कोरोना परिक्षण गराउन समेत अनुरोध गर्नुभयो ।