कर्णालीमा निषेधाज्ञालाई थप कडाई गर्ने तयारी

सुर्खेत, ३२ साउन ।
कोरोनाका सक्रिय संक्रमित बढ्न थालेपछि कर्णालीमा निषेधाज्ञालाई थप कडाई गर्ने तयारी गरिएको छ ।
सुर्खेत, जुम्ला र जाजरकोट लगायतका जिल्लाहरुमा अहिले रहदै आएको निषेधाज्ञालाई कडाई गर्ने तयारी गरिएको हो ।
सुर्खेतमा अहिले पाँच सय बढी कोरोनाका सक्रिय संक्रमित छन भने जुम्लामा दुई सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन ।
कोरोना संक्रमणदर उकालो लाग्न थालेपछि निषेधाज्ञामा केही कडाई गर्ने तयारी गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया प्रशाईले जानकारी दिनुभयो ।
उहाले संक्रमितको संख्या केही रुपमा बढेको देखिएको भन्दै सतर्क रहन विभिन्न कार्यक्रम समेत संचालन गरिएको जानकारी दिनुभयो ।
सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको सुर्खेतमा पनि सम्पूर्ण विवरण लिएपछि यस सन्दर्भमा निर्णय हुने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।
यस्तै, जाजरकोटमा पनि कोरोना सक्रिय संक्रमित बढेको देखिएको छ । सुर्खेतसँग नियमित सम्पर्क भइरहने हुँदा अन्य जिल्लाहरुसँग समन्वय गरेर निषेधाज्ञालाई केही कडाई गरिने जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताउनुभयो ।
यता, दैलेखमा कोरोना जोखिमका बिचमा पनि विद्यालय सञ्चालन गरी पठनपाठन सुरु भएको छ । नारायण नगरपालिकाको निर्णयमा सरस्वती मावि तर्ताङ्गमा विद्यालयमै भौतिक रुपमा पठनपाठन सुरु गरिएको हो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने अहिले विद्यालय खोल्ने कुनै निर्णय नभएको भन्दै अहिले जोखिम कायम रहेकाले विद्यालय बन्द गरिने बताउनुभयो ।
विद्यालयले भने स्वास्थ्यका मापदण्ड पालना गरेर पठनपाठन गरिएको जनाएको छ ।