एमाले फुट्यो

काठमाडौं, २ भदौ (जागरण) । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गर्नुभएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो । लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।
एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवदेन दिनुभएको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।
सांसद चन्दा चौधरीका अनुसार नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनुहुने छ भने राजेन्द्र महतो वरिष्ठ नेता रहनुहुने छ । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् ।
ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेको छ ।