सुर्खेत, ४ भदौ (जागरण) । २०६७ सालबाट सूरु भएको “खसीया आखर नाम दिइएको खस भाषाको शब्दकोष” लेख्ने कामलाई अन्तिम रुप दिइएको छ ।
पहिलो पटक खस भाषामा लेख्न लागिएको खस भाषाको बृहत शब्दकोष खसीया आखरको पाण्डुलिपीको तयारी अन्तिम चरणमा पुगेको हो ।
शब्दकोष निर्माण योजना २०७४ सालमा सकिने बनाएपनि आर्थिक समस्याका कारण लेखन कार्यमा समस्या आएको र अहिले त्यसलाई निरन्तरता दिएको लेखक रमानन्द आचार्यले कर्णाली रैबारलाइ बताउनुभयो ।
उहाँले दश वर्षमा करिब ३५ हजार शब्दहरु लेख्नुभएको छ भने त्यसको पुनरावलोकन गर्ने काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो ।
आचार्यले विदेशी भाषाको नक्कलले आफ्नै मातृभाषा हराउँदै जान थालेको प्रति चिन्तित हुदै खस शब्दकोश निर्माण अभियानमा जुटेको बताउनुभयो ।
यस्तै, स्थानीय तहरुले पनि खस भाषालाई विद्यालयतहको स्थानीय पाठ्यक्रममा समावेस गरेका छन् । जम्लाको सिंजा गाँउपालिकाले खस भाषामा स्थानीय पाठ्यक्रम बनिसकेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष देवल सिंह रावलले स्थानीय पाठ्यक्रम बनेर पालिकामा आइसकेको भन्दै उहाँले अब कारोना कम हुन वित्तिकै पठपाठन शुरु हुने जनाकारी दिनुभयो ।
यता, प्रदेश सरकारले खस भाषाको प्रवर्द्धन गर्नका लागि खस बृहत शब्दकोष प्रकाशन र विद्यालयतहको स्थानीय पाठ्यक्रममा खस भाषालाई समावेश गर्न सहयोग गर्नेगरी चालु बर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ । त्यस अनुसार अहिले कार्यविधि निमार्ण गर्ने प्रक्रियामा जुटेको प्रदेश सरकारले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीले सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय कार्यक्रम कायान्वयनको लागि ढाचा निमार्ण गर्ने प्रक्रियामा लागेको बताउनुभयो । नेपाली भाषाको इतिहास खस भाषालाई वृहत रुपमा विस्तार गर्न स्थानीय र प्रदेश सरकारले विभिन्न योजना बनाउँदै आएका छन ।