कर्णाली प्रदेश स्थापनाको छ वर्षः सहिदका सपना अधुरै

सुर्खेत, ४ भदौ (जागरण) । कर्णाली प्रदेश स्थापना भएको ६ वर्ष पुगेको छ । २०७२ साल भदौ चार गते साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका जनताको आन्दोलनको बलमा मात्रै कर्णाली प्रदेश प्राप्ती सम्भव भएको हो ।
राजनीतिक दलहरुको हेपाहा प्रवृत्तिका कारण करिब कर्णाली प्रदेश नै गुमेको थियो ।
हुम्लाको विकट भेगका नागरिकले प्रादेशिक सेवा सुविधा लिनका लागि धनगढी जानुपर्ने अवस्था आउने थियो भने त्यसबाट कर्णालीको पहिचान नै मेटिने थियो ।
कर्णाली प्रदेशसभा स्थापना हुनुपूर्व अहिलेको कर्णाली प्रदेश सुदुरपश्चिम प्रदेशमा गाभिएको थियो ।
केन्द्रीय शासनको पहुँचमा नरहेका कर्णालीका जनता कर्णालीमा नै राजधानी होस् भन्ने चाहना राख्थे । २०७२ साउन २३ गते अखण्ड मध्यपश्चिमको नारा लगाउँदै आन्दोलन सुरु भयो । त्यसको पर्सिपल्ट सुर्खेतमा तीन जनाको मृत्यु भयो ।
आन्दोलनका क्रममा सुर्खेतमा यामबहादुर बिसी, गोपालसिंह रजवार र टीकाराम गौतम तथा जुम्लामा हरिबहादुर कुँवरको आन्दोलनका क्रममा मृत्यु भयो ।
आ–आफ्नो स्वार्थको गठजोड गर्दै रमिते बनेर बसेका नेताहरू आन्दोलनकारीको मृत्युपछि मात्र सीमांकन हेरफेर गर्न बाध्य भएका थिए । र अन्त्यमा कर्णालीका दश जिल्ला समेटेर कान्छो प्रदेशको रुपमा स्थापित भयो ।
त्यसपछि यहाँका नागरिकमा खुशी छायो । नागरिकले कम्तिमा नजिकै आफ्नो सरकार आएको हेर्न पाउने, काठमाडौं धाउनुनपर्ने अवस्था आउने आश्वासन मात्रै होइन, भौगोलिक विकटताका कारण मात्र नभइ संघीय सरकारको उदासीपनका कारण विकास निर्माणको भोकमा तड्पिरहेका कर्णाली वासीले दीपावली मनाए ।
संघीयता आएको र शहिदहरुले बलिदानी दिएको ६ वर्षमा सरकार बनेको छन् तर सहिदका सपनाअनुसार प्रदेशको विकास अघि नबढेको सहिद परिवारको गुनासो छ । उतिबेला आन्दोलनमा होमिएका अभियान्ताहरु पनि आफूहरुले सोचेजस्तो गरी प्रदेश संयन्त्र अघि नबढेको गुनासो गरिरहेका छन् ।
तत्कालीन विद्यार्थी नेता तेजविक्रम बस्नेत, युवा नेता प्रचण्ड पोखरेललगायतले प्रदेश प्राप्त भएपनि प्रदेशले अधिकार नपाएको बताउनुभयो ।
प्रदेश सरकार बनाइएको तर त्यसका हातखुट्टा बाँधेर दौडन लगाइएको उहाको भनाई छ ।
यता, सहिद परिवारको गुनासो पनि उस्तै छ । आफ्नो दाईले कर्णाली प्रदेश बनाउनका लागि ज्यान दिएको स्मरण गर्दै शहिद याम बहादुर विसीकी बहिनी भगवती विसीले प्रदेश प्राप्त भएपनि दाईको सपना पुरा नभएको बताउनुभयो । उहाले राज्य चलाउनेहरु सत्ता र शक्तिप्रति मात्रै बफादार भएका आरोप लगाउनुभयो ।
२०७२ साल साउन २५ गते शहादत प्राप्त गरेका यामबहादुर बिसीको साउन ३२ गते अन्त्येष्टि गरिएको थियो ।
उहाको अन्त्येष्टिपूर्व राजनीतिक दल, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुले प्रदेश स्थापना भएको खण्डमा विभिन्न मागहरु पूरा गर्ने बचन दिएका थिए, सहिद परिवारसँग सहमति गरेका थिए । तर हालसम्म ती सहमति कार्यान्वयन नहुँदा उनीहरु छन् ।