कर्णाली मन्त्री परिषद्का यी निर्णय

सुर्खेत, १ असार (जागरण) । स्थानीय तहको निर्वाचन भएको एक वर्षसम्म पनि टुंगो नलागेको जाजरकोटको जुनीचाँदे गाउँपालिकाको केन्द्र लुहादह कायम गरिने भएको छ ।
आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्री परिषद्को वैठकले जुनीचाँदे गाउँपालिकाको केन्द्र लुहादह कायम गर्नेवारे आएको प्रस्ताव मन्त्रीपरिषदको राजनैतिक समितिमा पठाउने निर्णय गरेको हो ।
यस्तै, मन्त्रीपरिषद् वैठकले कर्णाली प्रदेश वातावरण संरक्षण सम्वन्धी विधेयक २०७५ को मस्यौदा प्रदेश सभामा पेश गर्न उद्योग, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो ।
यस्तै, कर्णाली प्रदेश प्रहरी सम्वन्धि विधेयक २०७५को मस्यौदा तर्जूमाका लागि आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरिएको उहाँले बताउनुभयो ।
साथै, वैठकले कर्णाली प्रदेश आर्थिक विधेयक २०७५, कर्णाली प्रदेश ऋण उठाउने सम्वन्धि विधेयक २०७५ र कर्णाली प्रदेश विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति प्रदान पनि गरेको छ ।