कर्णाली प्रदेशमा रक्त संचार केन्द्रको अभाव

नन्द कठायत ।
सुर्खेत, ८ भदौ (जागरण) । कर्णाली प्रदेशमा आवश्यक रगत संकलन गरी सुरक्षित रूपमा राख्ने रक्त संचार केन्द्र छैन । जसका कारण चाहिएको अवस्थामा बिरामीले रगत पाउन सकेका छैनन ।
कर्णालीमा गतिलो रगत संकलन गरी सुरक्षित रूपमा राख्ने रक्त संचार केन्द्र नहुदा नागरिकको अकालमै मृत्यु हुने गरेको छ । अहिले रेडक्रस सोसाइटीले रगत उपलब्ध बनाउँदै आएको भएपनि त्यसको क्षमता पर्याप्त छैन ।
यही अवस्थालाई मध्यनजर गर्दै ब्लड डोनर एशोसियसन शाखा सुर्खेतले टोल विकास समिति र विभिन्न विद्यालयसँगको समन्वयमा रक्त समुह परिक्षणको डाटा संकलन गर्ने जनाएको छ ।
ब्लड डोनर एशोसियसन शाखा सुर्खेतका अध्यक्ष किरण किशोर सापकोटाले कर्णालीमा भरपर्दा सुरक्षित रक्त संचार केन्द्र नभएको भन्दै आगामि दिनमा सम्बन्धित निकायलाई खबदारी गर्दै जाने कर्णाली रैबारलाई बताउनुभयो ।
कर्णालीका विभिन्न ग्रामिण क्षेत्रमा रगतका लागि नेपाली सेना एक मात्र विकल्प देखिएको छ ।
यता, प्रदेश सकारले भने अहिले रक्त संचार केन्द्रको बारेमा के गर्ने भन्ने ठोस् योजना बनाउन सकेको छैन । प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृष बहादुर शाहीले त्यसको लागि प्रदेश सरकार र सरोकारवाला निकायसगँ छलफल गरिने बताउनुभयो ।
उहाँले अहिले सम्म राष्ट्रिय निति अनुसार नै अगाडि बढेकाले केही ढिलो भएको भन्दै अब प्रदेश सरकार त्यसको तयारीमा लाग्ने जानकारी दिनुभयो ।
कर्णाली प्रदेश अस्पतालको भौतिक संरचना र क्षमता बढाउँदै लगिएको छ । तर उपकरण अभावले समस्या भएको अस्पतालका प्रमुख डाक्टर डम्बर खड्काले बताउनुभयो ।
डाक्टर खड्काले अस्पतालको क्षमता बढाउँदै गएकाले रक्त संचार केन्द्र र पलाज्मा मेसिनबाट विरामिलाई उपचार गर्ने योजना भएपनि लकडाउने गर्दा मेसिन ल्याउन नसकिएको जानकारी दिनुभयो ।