सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेश सरकारले आज बजेट ल्याउँदैछ । घाटा बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले २३ अर्वभन्दा बढीको बजेट आज दिउँसो १ बजे बस्ने संसद वैठकमा प्रस्तुत गर्ने भएको हो ।
संघीय सरकारले उपलब्ध गराएको अनुदान, आन्तरिक स्रोत र विदेशी दाताहरूको सहयोगसमेत समावेश गरेर बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।
केन्द्रको अनुदान, आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकम समावेश गरेर २३ अर्बको वास्तविक बजेट हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार वास्तविक बजेट २३ अर्ब भए पनि प्रदेशको आवश्यकतालाई ध्यान दिएर ठूलो आकारमा बजेट ल्याउन लागिएको छ ।
वास्तविक बजेट २३ अर्बको भए पनि घाटा बजेट ल्याउन लागिएकाले बजेटको आकार ठूलो हुने आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
यसअघि चालु आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि ल्याइएको एक अर्ब दुई करोड बजेट प्रदेश सरकारले खर्च गर्न सकेको छैन ।
उक्त बजेटमा हालसम्म जम्मा ६ प्रतिशत मात्र खर्च भएको र बजेट कार्यान्वयन गर्न नसकिरहेको प्रदेश सरकारले आगामी बजेट भने ठूलो आकारमा ल्याउन लागेको हो ।