सुर्खेत, १३ भदौ (जागरण) । मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थी संगठन र विश्वविद्यालयबिचमा सहमती जुटेको छ ।
उच्च स्तरिय समस्या समाधान समितिका संयोजक प्रध्यापक लिलाधर तिवारीको अध्यक्षतामा शनिबार साँझ बसेको वार्ता वार्ताले सहमती जुटाएको हो ।
विद्यार्थीहरुले उठाउँदै आएका मागहरु सम्बोधन गर्न विश्वविद्यालय तयार भएपछि सहमती जुटेको जनाइएको छ ।
मुख्यगरी विद्यार्थीहरुले पठनपाठन अनलाइनबाट भएको भन्दै परिक्षा पनि अनलाइनबाट हुनुपर्ने माग राखेका थिए । तर भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्य कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो ।
अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको ढाँचाको गुगल फारम भरी कुन माध्यमबाट जाँच दिने हो खुलाउनुपर्नेछ ।
विद्यार्थीको आवेदनबमोजिम परीक्षालाई व्यवस्थित, मर्यादित र आधारभूत मापदण्डअनुसार सञ्चालनका लागि समयतालिका अविलम्ब सार्वजनिक गर्ने सहमति भएको छ ।
पूर्वनिर्धारित परीक्षाका कार्यक्रमलाई दशैँ बिदाअगावै सम्पन्न गर्ने गरी तयारी थाल्ने समेत सहमती भएको छ ।
यस्तै, विश्वविद्यालयले विद्यार्थीबाट लिने विभिन्न शीर्षकका शुल्क हेरफेर गर्न कार्यदल गठन गरी पुनःनिर्धारण गर्ने, तोकिएको समयमा दीक्षान्त समारोह, सभा, बैठक सम्पन्न गर्ने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठाएको परिपत्रअनुसार कोभिड–१९ को अवधिभरको शिक्षण शुल्क मिनाहा गर्ने लगायतका सात बुँदे सहमती भएको वार्ता समितिमा रहेका विद्यार्थी नेता भरत शाहीले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
विद्यार्थी संगठनहरुले १८ बुँदे माग राख्दै आन्दोलित भएका थिए । सहमतिअनुसार अब आन्दोलनका कार्यक्रम समेत स्थगित भएको उहाले जानकारी दिनुभयो ।