कर्णालीमा एमालेका ३ सांसद एकीकृत समाजवादीमा

सुर्खेत, १६ भदौ ।
कर्णाली प्रदेशसभाका तीन एमाले सांसद नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।
प्रदेशसभामा रुकुमपश्चिमकी देवी ओली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादीको पक्षमा रहेको सुर्खेत स्थित निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराएका हुन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत छन् । प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षमा ९ सांसद खुलेका थिए । जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, सम्बरबहादुर थापा, नन्दसिंह बुढालाई एमालेले कारबाही गरेको थियो । एमालेका कारवाहीमा उनीहरु चारैजना अहिले नेकपा एकीकृत समाजवादीको कमिटीमा छन् ।
एमालेको आन्तरिक विवादको समयमा माधवकुमार नेपाल पक्षमा देखिएका अन्य सांसदहरु भने संस्थापन तिरै लागेका छन् ।