युवाहरूको सहयोग अभियानले रमेशलाई राहत

दैलेख, १७ भदौ (जागरण) । केही महिनाअघि भारतबाट नेपाल फर्किने क्रममा बाँकेको नेपालगञ्जमा दुर्घटनामा परी घाइते भएका भैरबी गाउँपालिका ३ चगत्राका रमेश सार्कीलाई दैलेखका युवाहरूको अभियानले सहयोग गरेको छ । दुर्घटनामा परी एउटा खुट्टा गुमाउनुभएका रमेशलाई जीवनयापन तथा वैकल्पिक खुट्टाको व्यवस्थापन गर्न युवाहरूले संकलन गरेको एक लाख १० हजार आठ सय ४५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
रोजगारीको लागि भारत गएका रमेश कोभिड १९ (कोरोना भाइरस) को संक्रमण बढेपछि नेपाल फर्कने क्रममा सवारी दुर्घटनामा पर्नुभएको थियोे ।
भारत गएर कमाएर परिवार पाल्नुपर्ने अवस्थामा खुट्टा गुमाउनुको पीडा भोगिरहेका रमेशलाई सहयोग गर्न आर्थिक संकलनको अभियान पुस्कर उपाध्याय, हेमा खड्का, कबिराज केसीले गरेका थिए ।
सहयोग रकम भैरबी ३ का वडा अध्यक्षसहित जनप्रतिनिधि र राजनितिक दलका प्रतिनिधि तथा समाजसेविको रोहवरमा हस्तान्तरण गरिएको छ ।