राउटे भाषाको लिपि बनाउँछौँ – उपाध्यक्ष घर्ती

सुर्खेत, २० भदौ ।
आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालका कार्यकारी उपाध्यक्ष गोकुल घर्तीले राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गर्ने बताउनुभएको छ ।
सुर्खेतको गुर्भाकोटमा बस्दै आएका राउटे वस्तीमा आइतबार राहत सामग्री लिएर पुगेका उपाध्यक्ष घर्तीले आफ्नो कार्यकालमा राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गर्ने बताउनुभएको हो । फिरन्ते जीवन विताइरहेका आदिवासी राउटे समुदायको पहिचानलाई जोगाउँदै समय अनुकल परिवर्तन गर्न पनि प्रतिष्ठानले पहल गर्ने उपाध्यक्ष घर्तीले बताउनुभयो ।
प्रतिष्ठान र नेपाल आदिवासी जनजाती महासंघले संयुक्त रुपमा राउटे समुदायलाई खाधान्न, लत्ता कपडा लगायतका सामग्री हस्तान्तरण गरेका छन् । राहत सामग्री हस्तान्तरण गर्दै महासंघका अध्यक्ष जगत बरामले राउटे समुदाय आदिवासी भित्र पनि पिछडिएको अवस्थामा रहेकाले उनीहरुका आधारभूत आवश्यकताको परिपूर्ति हुनेगरी सामाजिकीकरण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताउनुभयो । राउटे मुखिया सूर्यबहादुर शाहीले राहत सामग्री उपलब्ध गराएकोमा आफ्नो समुदायको तर्फबाट धन्यवाद दिनुभएको छ ।
कार्यक्रममा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन, प्रतिष्ठानका सदस्य सचिव कमल प्रसाद राजवंशी, यशिया इण्डिजिनियस पिपुल्स प्याक्टका डा. श्रीकुमार महर्जन, नेपाल आदिवासी जनजाति महासंघका कर्णाली प्रदेश अध्यक्ष वीरबहादुर भोटे, नेपाल मगर संघ कर्णाली प्रदेशका मुख्य सचिव डम्मर गरंजा गुर्भाकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शशीकुमार भट्टाई, वडा नं. ४ का अध्यक्ष प्रशन्न कुमार शाह, प्रहरी प्रतिनिधि लगायतको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो ।