दैलेखमा पेट्रोल हुन सक्ने प्रारम्भिक प्रतिवेदन

सुर्खेत, २२ भदौ (जागरण) । पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सर्भेको क्रममा दैलेखमा ग्यास र पेट्रोल हुन सक्ने प्रारम्भिक प्रतिवेदन पेश गरेको छ ।
चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रारम्भिक प्रतिवेदनमा ग्यास र पेट्रोल हुन सक्ने प्रसस्त सम्भावना रहेको हो ।
चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको भन्दै विभागका प्रवक्ता जयराज घिमिरेले पेट्रोलियम पदार्थ हुन सक्ने प्रसस्त आधार भएको कर्णाली रैबारलाई बताउनुभयो ।
कोरोना महामारीले काम हुन नसकेको भन्दै उहाले अझै पनि विज्ञ टोलीले आफ्नो देशको अनुमति पाउन नसकेको बताउनुभयो ।
कोरोनाको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन ।
अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उहाले जानकारी दिनुभयो ।
दैलेखका विभिन्न ठाउँमा २०७६ असोजबाट अन्वेषणको काम सुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ ।
विभागले सर्भेको रिपोर्टको नतिजाका आधारमा ४ हजार मिटर तल ड्रिलिङ काम गर्ने जनाएको छ । अन्वेषणका लागि चिनियाँ टोलीसँग २०१९ फेब्रुअरीमा सम्झौता गरिएको थियो । जसको म्याद २०२२ डिसेम्बरसम्म छ ।