सुर्खेत, २३ भदौ (जागरण) । कर्णाली प्रदेशमा ३ सय ४२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी (एस) पार्टी रोजेका छन् ।
३ जना प्रदेशसभा सदस्य र ३३९ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एमाले छोडेर एस पार्टीको पक्षमा सनाखत गराएका ह्न ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार रुकुम ३, सल्यान ६४, डोल्पा ४२, जुम्मा ४४, मुगु २८, हुम्ला ५, कालिकोट ६५, जाजरकोट १०, दैलेख ६३, सुर्खेत १५ जनाले समाजवादी रोजेका छन् ।
अध्यादेश अनुसार आजसम्म सनाखत गराउने मिति रहेको थियो । एस पार्टीमा सनाखत गराउनेमा कर्णाली प्रदेशसभा सदस्यहरुमा देवि ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकाय रहेका छन् ।
उनीहरुले १६ गते प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा गएर सनाखत गराएका थिए । रुकुम पश्चिमकी ओली नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद हुनुहुन्थ्यो भने शाही मुगु र रोकाय जुम्लाबाट निर्वाचित हुनुभएको थियो ।
फ्लोरक्रसगरी माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि निलम्बित भएका एमालेका चार जना प्रदेशसभा सदस्यहरुले पनि आफूहरु एस पार्टीमा रहेको भन्दै प्रदेश निर्वाचन कार्यालयमा निवेदन दिएका छन् ।
२०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशसभाका ४० मध्य २० सिटसहित नेकपा एमाले पहिलो पार्टी बनेको थियो ।
त्यस मध्य चार जना सांसदहरु प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्य मन्त्री बनेका महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएपछि पार्टीको सिफारिसमा उनीहरु पदमुक्त भैसकेका छन् । अहिले ३ जनाले एकीकृत समाजवादी पार्टी रोजेपछि अब एमालेमा सभामुखसहित १३ जना सांसद रहेका छन् । एमाले अब पनि प्रदेशसभाको ठूलो पार्टी र प्रमुख प्रतिपक्ष रहनेछ ।
अब प्रदेशसभामा एमालेका १३, माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपा का १ सांसद भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित एक जना सांसदले एमाले रोजेपछि उनी पनि पदमुक्त भैसकेका छन् ।
एमाले नेताहरुले भने कर्णालीमा अन्य प्रदेशका तुलनामा कम प्रभाव परेको र एमालेजस्तो विशाल पार्टीमा कुनै प्रभाव नपर्ने प्रतिक्रिया दिएका छन् ।