सुर्खेत, २४ भदौ (जागरण) । हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् ।
हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।
हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।
विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।
भाऽ शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ ।
हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लागेको छ ।
यस्तै, कला क्षेत्रमा काम गर्नेहरुले भने तिजको मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन । कलाकार प्रेमदेव गिरीले विगतमा तिज पर्वमा मौलिकता रहेको भन्दै अहिले भने यो पर्वको मौलिकता हराँउँदै गएको बताउनुभयो । डिलाराम आचार्यको सहयोगमा ।