हुम्ला, २६ भदौ (जागरण) । हुम्लास्थित नेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली आज हुम्ला पुगेको छ ।
गृह मन्त्रालयका सहसचिब जयप्रसाद आचार्यको अध्ययन टोली हुम्ला पुगेको हो । सिमकोट पुगेको टोलीले आज नै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासक र नागरिक समाजसँग छलफल समेत गरेको छ ।
टोली भोली लाप्चातर्फ जाने संयोजक आचार्यले जानकारी दिनुभयो । सरकारले आचार्यको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।
सरकारले गठन गरेको समितिमा सात जना सदस्य पुगेका छन् । समितिका सदस्यहरूमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् ।
समिति नेपाल र चीनबीचका हुम्ला खण्डमा पर्ने १५ वटै सीमास्तम्भसम्म पुग्ने तयारी छ ।
दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण गरेको र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी पुनर्निर्माण गरेको भन्दै सरकारले समिति गठन गरेको थियो । चिनले भने नेपालसँगको कुनै पनि विवाद नरहेको बताउँदै आएको छ ।