नेपाली काँग्रेस दैलेखको नेतृत्वमा युवा पुस्ता हावी हुने संकेत

सुर्खेत, २६ भदौ (जागरण) । नेपाली काँग्रेस दैलेखको जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला सभापतिमा अधिकांस युवा आकांक्षी देखिएका छन । करिब आधा दर्जन आकांक्षी भएपनि युवाहरु हावी हुने संकेत देखिएको छ ।
आकांक्षीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङलाई तीब्रता दिएका हुन् । वडा, गाउँपालिका र प्रदेश क्षेत्रस्तरीय समितिमा आफ्नो पकड कायम राख्न लागि परेको काँग्रेसले जनाएको छ ।
पार्टी सभापतिका लागि दुइजना युवा नेताको नाम चर्चामा छ । देउवा खेमाबाट घनश्याम भण्डारी आकांक्षी देखिनुभएको छ । उहा दुल्लु नगरपालिकाको मेयर हुनुहुन्छ । भने पौडेल खेमाबाट खेमराज ओलीको नाम चर्चामा छ । उहा गुराँस गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । यसैगरी, वहालवाला पार्टी सचिव भुपेन्द्रबहादुर शाही, मणिराम रेग्मी, गणेश उपाध्याय सभापतिको आंकाक्षी देखिएका छन । दैलेखको पार्टीको नेतृत्व युवाहरुलाई दिनुपर्ने माग बढ्दो छ । वडामा युवाहरु हावी हुन थालेपछि युवा नेतृत्वमा जवरजस्त देखिन थालेको हो ।
समीकरण हेर्दा पौडेल पक्षकाको सम्भावना बलियो नै देखिन्छ । तर पौडेल पक्षबाट उमेद्वारका आंकाक्षी धेरै देखिएका छन ।
अहिलेसम्म पार्टी सभापति क्षेत्र नं १ का नेताहरुले लिने गरेका छन । हालका सभापति कृष्णकुमार बीसी पौडेल निकट नेता हुनुहुन्छ । उहाले दुई कार्यकाल पार्टी सञ्चालन गरिसक्नुभएको छ ।
दैलेखमा युवा नेतृत्व ल्याउनेगरी आफ्नो पक्षबाट एकजना मात्रै उमेद्वार हुने सभापति विसीले दाबी गर्नुभयो ।