सुर्खेत, ३ असोज (जागरण) । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।
संविधान दिवसका अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाले संविधानमा उल्लेखित व्यवस्थाहरु कार्यान्यनमा सबै पक्ष लाग्न उहाले सबै पक्षलाई आव्हान गर्नुभएको छ ।
यस्तै, मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पनि संविधान दिवसको अवसरमा प्रदेशसहित देशवासीलाई शुभकामना दिनुभएको छ ।
यसैबिच, राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ कैदीहरूको बाँकी सजाय माफी मिनाह गर्नुभएको छ ।
मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरूको बाँकी कैद सजाय माफी मिनाह गरिएको हो ।
आइतबारदेखि लागू हुने गरी ८ जनाको सजाय माफी र ५ सय २३ जनाको कैद भुक्तानी माफी मिनाह गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यता, सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने भएको छ ।
जनआन्दोलन तथा मधेश आन्दोलनका बेलामा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानका प्रावधान तथा पहिलो संविधान सभामा सर्वसम्मत भएका विषयलाई उपेक्षा गरी नेपालको संविधान २०७२ जारी भएको भन्दै जसपाले दिवसका अवसरमा सरकारले गर्ने कार्यक्रममा भाग नलिने निर्णय गरेको हो ।
अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति निकालेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै सच्चाउन दबाबका लागि आज असोज ३ गते विभिन्न अन्तरक्रियाका कार्यक्रम गर्ने बताउनुभएको छ ।