समूह चरणकै रोमाञ्चक भिडन्त

मस्को, १ असार । २०१८ को फिफा विश्वकप अन्तर्गत समूह ’बी’ मा स्पेन र पोर्चुगलबीच हुने खेललाई समूह चरणकै रोमाञ्चक मानिएको छ । दुवै टिमको लक्ष्य उपाधि भएकाले खेललाई महत्वका साथ लिइएको छ ।
सन् २०१० को विश्वकपको अन्तिम १६ मा स्पेन र पोर्चगलबीच प्रतिस्पर्धा भएको थियो। तनावपूर्ण खेलमा स्पेनले पोर्चुगललाई १–० ले हराएको थियो । सो खेलपछि दुई टिमबीच ठूला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
दुई टिमबीच अहिलेसम्म ३५ पटक प्रतिस्पर्ध भएको छ । जसमा स्पेनले १६ खेलमा जित हात पारेको छ भने पोर्चुगल ६ खेलमा विजयी भएको छ ।
स्पेनिस टिमलाई सन्तुलित टिम मानिएको छ । युवा र अनुभवी खेलाडीको समिश्रण भएकाले स्पेन मानसिक रुपमा बलियो छ । तर विश्वकपअघि प्रशिक्षक बर्खास्तमा परेपछि टिममा प्रभाव पर्नेछ ।
यता युरोपियन च्याम्पियन पोर्चुगलमा प्रतिभाशाली युवा खेलाडी छन् । अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोको प्रेरणामा टिमले उत्कृष्ट खेल्ने अपेक्षा गर्न सकिन्छ ।
पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले स्पनेलाई बलियो टिम बताउनुभएको छ । तरपनि उहाँले समूह चरणमा उत्कृष्ट खेलेर पोर्चुगिज टिम अघि बढ्न तयार भएको बताउनुभयो ।
युरो २०१६ को विजेतासँग पहिलो खेल खेल्दा स्पेनलाई सहज नहुने स्पेनिस टिम विश्लेषकको भनाइ छ । तर ‍पछिल्ला २० खेलमा अपराजित स्पेन उच्च मनोबलमा छ ।
प्रशिक्षक जुलेन लोपेटेगुइ विश्वकप सुरु हुनु भन्दा एक दिन अघि बर्खास्तमा परेकाले टिममा प्रभाव पर्नेछ । उहाँको स्थानमा फर्नान्डो हिइरोले स्पेनिस टिम सम्हाल्नुहुनेछ ।