कम भएन कर्णालीमा बाल विवाह, प्रदेश अस्पतालमा सुत्केरी हुने करिब ७ प्रतिशत १९ बर्ष मुनीका

सुर्खेत, ५ असोज (जागरण) । कर्णाली प्रदेशमा बाल विवाहको अवस्था अझै कम हुन नसकेको पाइएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा गर्भवती भएका महिलाहरको तथ्याङ्कलाई केलाउँदा बाल विवाहको अवस्था अझै कम हुन नसकेको पाइएको हो । अस्पतालमा प्रसुती हुने जम्मा महिलाहरु मध्य करिब ७ प्रतिशत सानो उमेरमै आमा बनेका हुन ।
अस्पतालमा गत आर्थिक बर्ष २०७७÷०७८ मा चार हजार सात सय ४९ जना गर्भवती भएका थिए । तिमध्य ६ सय ८९ जना १४ बर्षदेखि १९ बर्ष उमेर समुहका रहेको प्रदेश अस्पतालले जनाएको छ ।
विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले बालविवाह अन्त्यको लागि भन्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको भएपनि बाल विवाह हुने क्रम रोकिन सकेको छैन ।
अस्पतालका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतका अनुसार सानै उमेरमा गर्भवती हुनेको संख्यामा अझै कमी आउन सकेको छैन ।
सरकारले सन २०३० सम्म नेपालबाट बालविवाह अन्त्य गरिसक्ने राष्ट्रिय रणनीति तयार पारेको छ ।
विगतको भन्दा अस्पतालमै सुत्केरी हुनुपर्छ भन्ने चेतनाको स्तर पनि बढेको बस्नेतले जानकारी दिनुभयो । अहिले अधिकांस महिलाहरु स्वास्थ्य संस्थामा नै प्रसुती हुने गरेका छन ।
गत बर्षको तथ्याङ्क हेर्दा करिब पाँच हजार महिलाहरु प्रदेश अस्पतालमा मात्रै प्रसुती भएका हुन । यो संख्या विगतको भन्दा उल्लेख्य हो । तिमध्य तिन हजार ४ सय एक जना २० देखि २९ बर्ष उमेर समुह महिलाहरु छन । भने ३० देखि ३९ बर्षका ६ सय ३९ जना र ४० देखि ४९ बर्ष उमेर समुहका १९ जना रहेका छन । यस्तै, ५० बर्षभन्दा माथीको उमेर समुहका एकजना प्रसुती भएको डाक्टर बस्नेतले जानकारी दिनुभयो ।