कर्णाली प्रदेशको छोरी–बुहारी छात्रावृत्ति कार्यक्रमः ११ सय बढी लाभान्वित

नन्द कठायत ।
सुर्खेत, ७ असोज (जागरण) । कर्णाली प्रदेशमा सञ्चालन भएको छोरी–बुहारी छात्रावृत्ति कार्यक्रमबाट हालसम्म १ हजार १ सय भन्दा बढीले छात्रावृत्ति पाएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयकाअनुसार उच्च शिक्षा अध्ययनका लागि दिदै आएको छात्रावृत्तिबाट हालसम्म १० जिल्लाका १ हजार १ सय ५२ जनाले छात्रावृत्ती पाएका हुन् ।
यो कार्यक्रममार्फत कर्णाली प्रदेशका छोरी तथा बुहारीहरू प्राविधिक शिक्षातर्फ आकर्षित भएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
छात्रवृत्तिका लागि छनोट भएकालाई अध्ययन अवधिभर एक पटकमा १ लाख रुपैयाँ उपलब्ध गराइरहेको शिक्षा विकास निर्देशक दीपा हमालले जानकारी दिनुभयो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि सुरु भएको कार्यक्रमलाई प्रदेश सरकारले यो वर्ष पनि निरन्तर गर्ने जनाएको छ ।
निर्देशनालयले प्राविधिकतर्फ विभिन्न विषयमा आवेदन माग गरी त्यसको आधारमा छात्रवृत्ती वितरण गर्ने गरेको छ । निर्देशक हमालले यो वर्ष पनि कात्तिक महिना भित्र सुचना आव्हान गर्ने तयारी भइरहेको बताउनुभयो ।
छोरी–बुहारी छात्रवृत्ति, प्राविधिक उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति र कर्णाली प्रदेश घोषणाका लागि आन्दोलनमा सहिद भएका सन्ततिका लागि छात्रवृत्तिका कार्यक्रमहरू ल्याएको निर्देशक हमालको भनाई छ ।
प्राविधिक शिक्षामा महिलाको पहुँच बढाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रमले सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।
चेतनाको हिसावले समेत पछाडि परेको कर्णालीमा पछिल्लो समय महिलाहरूको समेत प्राविधि शिक्षामा पहुच पुर्याउने उद्दश्य रहेको उहाँले बताउनुभयो । छात्रवृत्ति रकम विधाअनुसार २४ हजारदेखि १ लाखसम्म दिइने गरिएको छ ।