सुर्खेत, ९ असोज ।
नेपाल खाध तथा व्यापार कम्पनी सुर्खेतको गोदामबाट मुगुका लागि ढुवानी गरिएको अनुदानको चामल भक्तपूर पठाउने शर्मा ढुवानी सेवालाई कालो बजार ऐन अन्तर्गत जरिवाना भएको छ ।
गत बर्ष मंसिर ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उक्त मुद्धामा प्रशासनले गत साउन २१ गते फैसला गर्दै ३ लाख ७५ हजार जरिवाना गरेको हो । शर्मा ढुवानी सेवाका सञ्चालक बासुदेव शर्मालाई २ लाख, उनकी पत्नी एवं फर्म सञ्चालक सर्मिला शर्मालाई १ लाख, लेखापाल शिवराजलाई ५० हजार र ट्रक चालक वीरेन्द्रकुमार थापालाई २५ हजार जरिवाना गर्ने फैसला भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायव सुब्बा राजु चौधरीले जानकारी दिए । कालो बजारी तथा अन्य केही सामाजिक अपराज तथा सजाएँ ऐन २०३२ को दफा ४ बमोजिम कारबाही गरिएको चौधारीले बताए ।
उक्त दफामा नेपाल सरकारले कुनै अञ्चल वा जिल्लामा वितरणका लागि तोकिदिएको कोटाको वा कुनै अञ्चल वा जिल्लामा बिक्री वितरणको लागि आयात गरिएको वा एजेण्ट, डिलर वा रिटेलरको रुपमा उपलब्ध भएको माल वस्तु अन्यत्र लगेमा वा अन्यत्र बिक्री गरेमा वा एजेन्सी वा डिलरसीपको शर्त बिरुद्ध वा उपभोक्ताहरुमा समुचित वितरण नहुने गरी कसैले बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवैहुन सक्ने उल्लेख गरिएको छ ।
न्यायधिवक्ताको कार्यालय सुर्खेतले अधिकतम २ लाख ५० हजार रुपैयाँ जरिबाना र १ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो जिल्ला प्रशासन कार्यालयले भने जरिबाना मात्रै गरेको छ ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आपूर्तिकर्ता शर्मा ढुवानी सेवाले मुगुका लागि कम्पनीको गोदामबाट लोड गरेको २ सय ५० क्विन्टल चामल भक्तपुर पठाउने क्रममा सुब्बाकुनाबाट गत बर्ष कात्तिकमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले वासुदेव शर्मासहित ट्रक चालकलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोम महतले प्रारम्भिक सुनुवाईपछि शर्मालाई ३ लाख ५९ हजार ५ सय रुपैयाँ र ट्रक चालक थापालाई त्यसको आधा रकम धरौटीमा छाड्न आदेश दिएको थियो ।