फोर लेन सडकको वेहाल, यात्रुलाई सास्ती


जागरण
सुर्खेत,१२ असोज । कर्णाली प्रदेशभर एउटा मात्र फोरलेन सडक छ । प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाविट–बाङ्गेसिमल खण्डको उक्त सडक पनि समयमा मर्मत संभार नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
करिब १० किलोमिटरमा रहेको फोरलेन सडकको ठाउँ ठाउँमा पिच उक्किएर बनेका खाल्डा र निर्माणधिन पुलहरु समयमा सम्पन्न नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको हो । सडकका कारण सडकमा दैनिक सयौँको संख्यामा आवतजावत गर्ने सावरी साधन र पैदल यात्रीले सास्ती भोग्ने गरेका छन् । कहिले धुलाम्मे त कहिले हिलाम्मे हुने यस सडकमा खाल्डाखुल्डीले गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ । यस्तै गुणस्तरहिन सडकले गर्दा सवारी साधन समेत विग्रिने र धेरै इन्धन खपत हुने जस्ता समस्या आएको अटो रिक्सा चालक मौसमी शाहीले बताउनुभयाे । ‘बाटो खराब भएर छिटो छिटो टायरहरु फेर्नुपर्छ यात्रुलाई पनि अप्ठेरो हुन्छ’ अटो रिक्सा चालक शाहीले भन्नुभयाे ‘यति चाँडै पिच उक्किनेगरी कसरी बनँएको रैछ सरकारले समयमै नबनाउँदा साह्रै समस्या छ ।’
प्रदेश राजधानी वनेसँगै सवारी साधनहरूको अत्यधिक चाप बढेपनि त्यस अनुसार सडकको मर्मत संभार नहुँदा समस्या भएको हो । फोरलेन सडकको एयरपोर्ट चौक, दैलेख रोड चोक, बसपार्कचौक, मंगलगढी चौक, यरिचौक लगायत ठाउँमा बढी खाल्डाखुल्डी परेको छ । नगरपालिकाले हाइमास लाइट जडानका लागि पिपिरा, मंगलगढी चौक र एरिचौकमा सडक खनेर धुलाम्मे पारेको छ भने इत्राम खोला र खोर्केखोलामा निर्माणाधिन सडक तोकिएको समयमा सम्पन्न नहुँदा सडक पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुने गरेको छ । जसले गर्दा यात्रा गर्न निकै सास्ती खेप्नु परेको बताउँनुहुन्छ स्थानीय मोहन आरसी । ‘स्थानीयदेखि प्रदेश सरकार पनि यहीँ छ’ आरसीले भन्नुभयाे‘यी पुलहरु बन्न लागेको पनि कति भैसक्यो समयमा नबउँदा धुलो हिलोले हाम्रो स्वास्थ्यमाथि नै असर परेको छ।’
धुलियाबिटबाट बाँङ्गेसिमलसम्म पर्ने पाँच वटा पुल निर्माणको जिम्मा २०७५ असारमा सपना आशिष श्याम एण्ड शंकर जेभिले पाएको थियो । सम्झौता अनुसार २०७७ माघ ११ गतेसम्म पाँचवटै पूलको निर्माण कार्य सकिसक्नुपर्ने भएपनि इत्राम र खोर्के खोलको पुल निर्माण अझैसम्म सकिएको छैन । कम्पनीलाई छ महिनाका लागि थप गरिएको म्याद समेत गत साउनमा सकिएको छ । कोरोनाका कारण काम गर्न नर्पाको कारण देखाउँदै दास्रो पटक म्याद थप माग गरेको कम्पनीलाई बढीमा छ महिनासम्मका लागि म्याद थप गर्न सडक विभागले डिभिजन कार्यालय सुर्खेतलाई सहमती दिएको छ । तर सडक डिभिजन कार्यालयले भने आवश्यकताका आधारमा म्याद थप गर्ने तयारी गरेको सडक डिजिन कार्यालय सुर्खेतका प्रवक्त एवं इन्जिनियर सजना पोख्रेलले बताउनुभयाे। ‘हामीलाई बढीमा चैतसम्म म्याद थप गर्ने अधिकार विभागबाट आएको छ’ उहाँले भन्नुभयाे ‘तर अब बाँकी काम गर्न त्यति समय लाग्ने नदेखिएकाले आवश्यकता हेरेर तीन चार महिना म्याद थप गर्छाैँ ।’
धुलियाबिटदेखि मंगलगडी चौक र र मंगलगढीदेखि बाँङ्गेसिमल गरी दुई खण्डमा छुट्टा छुट्टै समयमा टेण्डर गरेर सडक निर्माण गरिएको थियो । पहिलो चरणमा निर्माण गरिएको मंगलगढी चौकसम्मको मर्मतका लागि सडक डिभिजन कार्यालयले प्रक्रिया अघि बढाएपनि मंगलगढी–बाँङ्गेसिमल खण्डमा भने मर्मतकाको कुनै योजना छैन ।
सडकको विजोग हुँदा यात्रुले सास्ती खेप्नु परेको त छँदैछ, राजधानीस्थित प्रदेशमै एक मात्र फोरलेन सडकको हालतले कर्णालीको विकासको अवस्था समेत झल्काउने हुँदा यसको समयमै मर्मत संभारका लागि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।