एउटा बुँदाले प्रध्यापकहरुसँगको सहमती निश्कर्षमा पुग्न सकेन

सुर्खेत, १३ असोज (जागरण) । विभिन्न माग राखेर आन्दोलित बनेका मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत प्रध्यापक संघ संगठनहरु र विश्वविद्यालयबिच सहमती बनेको वार्ता एउटा बुँदाले निश्कर्षमा पुग्न सकेन ।
विश्वविद्यालय र आन्दोलनरत प्रध्यापकबिच ६ बुँदे सहमतीपत्रमा हस्ताक्षर गरिएको भएपनि एउटा बुँदाले सहमतीलाई निश्कर्षमा पुर्याउन नसकिएको हो ।
विश्वविद्यालयले केही प्रध्यापकहरुलाई परिक्षामा संचालनमा नियम मिचेको भन्दै वर्खास्त गरेको थियो । ति प्रध्यापकहरुलाई पुनरवहाली गर्नुपर्ने अडान लिएका छन । विश्वविद्यालयले भने उक्त विषय अदालतमा पुगीसकेकाले निर्णय गर्न नमिल्ने बताएपछि सहमती निश्कर्षमा पुग्न नसकेको हो ।
सहमतीका बुँदा अहिले नै भन्न मिल्दैन ःसंयोजक तिवारी
यता, विश्वविद्यालयका तर्फबाट वार्ता समितिका संयोजक रहेका लिलाधर तिवारीले अन्य सबै बुँदामा सहमती भइसकेको र एउटा बुँदाले मात्रै सहमतीलाई निश्कर्षमा पुर्याउन नसकिएको बताउनुभयो ।
ति ६ बुँदामा के उल्लेख छ भन्ने सन्दर्भमा भने तिवारीले खुलाउन चाहानुभएन । उहाले अहिले क्लोज हुन बाँकी रहेकाले अहिले नै ति बुँदाहरु सार्बजनिक गर्न नमिल्ने बताउनुभयो ।
उहाले सारमा आंशिक प्रध्यापकहरु, करार प्रध्यापक माग सम्बोधन गरिने, वृत्ति विकास र उपदान कार्यान्वयन लगायतमा सहमती भएको बताउनुभयो । यसअघि रजिष्टरको कार्यालयले विज्ञप्ति निकालेर सहमती भएको बताएको थियो ।
प्रध्यापकहरुले उपप्रध्यापकको कारबाही फिर्ता लिनु पर्ने, राजनितिक पूर्वाग्रह राख्दै एकपक्षिय ढङगले गरीएका पदाधिकारी नियुक्तिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, उपप्रध्यापक तथा कर्मचारीको विज्ञापन र छनोट प्रक्रिया तुरुन्तै गर्नुपर्ने, लामो समय देखि पढाउदै आएका प्रध्यापकहरुलाई करार बनाईनुपर्ने र करार रहेकालाई विशेष आन्तिरीक प्रक्रियाबाट स्थाई बनाईनु पर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।
त्यस्तै, उनिहरुले इन्जिनियरिङ सङकाय अन्र्तगत एम.ई कार्यक्रमका निर्देशक उपप्रध्यापक विश्वनाथप्रसाद यादवलाई उपकुलपति द्धारा विनाकारण सेवाबाट बर्खास्त गरिएको भन्दै फिर्ता लिनुपर्ने माग राख्दै दुइ महिनादेखि आन्दोलित भएका थिए ।
नेपाल राष्ट्रिय प्रध्यापक संगठन, करार प्रध्यापक संघ, आंशिक प्रध्यापक संघ आन्दलोलित बनेका थिए ।