सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेशस्तरीय ट्राफिक सम्मेलन सुर्खेतमा सम्पन्न भएको छ । भेरीगंगा नगरपालिकास्थित छिन्चुमा आज भएको सम्मेलनमा सवारी दुर्घटना न्युनिकरण लागि टाफिक नियम तथा सुरक्षित सडक प्रयोगसम्बन्धी छलफल भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सवारी दुर्घटना न्युनिकरणका लागि नयाँ कानुनको आवश्यक रहेको बताउनुभयो । साथै उहाँले अब प्रदेश सरकारले नयाँ टाफिक कानुन बनाउने बताउनुभयो । उहाँले कानुन निर्माण र कानुन कार्यान्वयनमा सबैको दायित्व रहेको भन्दै कर्णाली प्रदेशलाई कसरी कम दुर्घटना हुने प्रदेश बनाउन सकिन्छ भनेर सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा प्रदेश प्रहरी प्रमुख सुरेन्द्रबिक्रम शाहले सडक दुर्घटनालाई न्युनिकरण गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले मानविय, सवारी र अव्यवस्थि सडकका कारण दुर्घटना हुने भन्दै सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सवारी साधनको अवस्था र सडकको अवस्था राम्रो भए सवारी दुर्घटना न्यनिकरण गर्न सकिने बताउनुभयो । कार्यक्रममा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसी, लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनार, विद्यार्थीहरु , शिक्षकहरु, ट्राफिक प्रहरीहरुलगायतको सहभागिता रहेको थियो ।