कर्णाली प्रदेश मासुमा आत्मनिर्भर, पशुपालन व्यवसायमा युवाहरुको आकर्षण बढ्दै

सुर्खेत, २१ असोज (जागरण) । कर्णाली प्रदेश मासुमा आत्मनिर्भर बनेको छ । पछिल्लो समय पशुपालन व्यवसायमा आकर्षण बढ्न थालेपछि कर्णाली प्रदेश मासुमा आत्मनिर्भर भएको हो ।
युवाहरु पशुपालनमा आकर्षित हुन थालेपछि उत्पादनमा वृद्धि भएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी विकास निर्देशनालय जनाएको छ ।
प्रदेशका करिव ६० प्रतिशत नागरिक पशुपालनमा निर्भर रहेको निर्देशक गिरीको भनाई छ । वैदेशिक रोजगारीमा रहेका युवाहरु कोरोना भाइरसको महामारीपछि गाउँ फर्किएर पशुपालन व्यवसायमा लागेका छन् ।
प्रदेशभर पुग्ने मासु उत्पादन भएर पनि भेडा च्याङ्ग्रा निर्यात हुन थालेको निर्देशनालयले जनाएको छ ।
यो वर्षको दशैँ तिहारमा मात्रै ५० हजार भेडा, च्याङ्ग्रा निर्यात गर्ने तयारी गरिएको निर्देशनालयका निमित्त प्रमुख मोहन गिरीले कर्णाली रेबारलाई जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘गत बर्ष कर्णालीबाट एक अर्ब बराबरको निर्यात गर्न सफल भएका थियौँ, यो बर्ष त्योभन्दा धेरैको हाराहारीमा हामी भेडा, च्याङ्ग्रा, खसी बोका निर्यात गर्छौ ।’
दशै तिहारमा धेरै घरपालुवा चौपाया अत्यधिक निर्यात हुने गरेको भन्दै यो वर्ष पनि एक अर्बभन्दा बढी निर्यात हुने जानकारी दिनुभयो । कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु अहिले पशुपानलन व्यवसायमा आकर्षित भएको भन्दै कर्णालीमा मासुको उत्पादनमा समेत वृद्धि भएको बताउनुभयो ।
उहाले भन्नुभयो, ‘हामीले विगतको भन्दा उत्पादनलाई समेत बढाउँदै गएका छौ, पछिल्लो समय युवाहरुको पशुपालन व्यवसायमा आकर्षण पनि बढ्दो छ ।’