जागरण
सुर्खेत, २१ असोज ।
सुर्खेतको वीरेन्द्रनगर ६ स्थित नेता चोकमा सञ्चालनमा आएको कर्णाली कै पहिलो व्यावसायिक मल कर्णाली मलको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
दशैँ घटस्थापनाको दिनको अवसर पारेर बिहीबार मलको उद्घाटन गरिएको हो । मलको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीमै पहिलो पटक मल सञ्चालनमा आउनुले कर्णालीको विकासमा इट्टा थपिएको बताउनुभयो । सडक, पुल लगायत भौतिक विकासलाई मात्र विकास भन्ने चलन रहेको भन्दै व्यावसायिक विकासलाई पनि विकासको रुपमा लिनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ । उहाँले कर्णाली मलले रोजगारी सिर्जना गर्नुका साथै राज्यलाई स्पष्ट रुपमा कर तिरेको चर्चा गर्दै यस्ता किसिमका व्यापार व्यवसाय गर्नेहरुलाई कर्णालीमा सरकारले सधैँ स्वागत गरिरहेको बताउनुभयो । मलका सञ्चालक भरत प्रसाद ढकालले पैसा कमाउने उद्देश्यले मात्र नभई कर्णालीमा व्यवसायमा नविनतम सुरुवातका लागि जोखिम मोलेर लगानी गरेको बताउनुभयो । उहाँले मलमा महंगो हुन्छ भनेर हल्ला गरिएको तर मलमा बाहिरका पसलहरुजस्तै साधारण मुल्य र कतिपय सामानमा छुटका साथ बिक्री गर्ने गरेको भन्दै हल्लाका पछाडी नलाग्न आग्रह गर्नुभयो । कार्यक्रममा मलका प्रवन्ध निर्देशक शुशील शर्माले दशैँ तिहार लगायतका चाडपर्वको अवसरमा हरेक सामानमा दश प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।