सुर्खेत, २५ असोज (जागरण) । कर्णाली प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले दशैलगायत चाडपर्व भित्रिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएका छन् ।
प्रदेशका दशवटै जिल्ला प्रशासन कार्यालयहरुले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजक्तमा चाडपर्व लक्षित विभिन्न समिति गठन गरी संयुक्तरुपमा बजार अनुगमन तिव्र बनाएका हुन ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले मुख्य बजार क्षेत्र र हिमा गाउँपालिका र सिंजा गाउपालिका विभिन्न थोक तथा खुद्रा पसलमा अनुगमन गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले खाद्यान्न, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतका पसलमा अनुगमन गरीएको बताउनुभयो ।
उहाँले अनुगमनको क्रममा केही म्याद गुज्रिएका अखाद्य वस्तुहरु धेरै भेटाएर नष्ट गरिएको जानकारी दिनुभयो ।
कोरोनाभाइरस महामारीमा लामो समय बजार बन्द रहेका कारण म्याद गुज्रिएका तथा गुणस्तरहीन सामाग्री बढी भएकाले उपभोक्ता आफै सचेत हुनु उहाँले कर्णाली रैबार मार्फत आग्रह गर्नुभयो ।
यस्तै, जिल्ला प्रशासन कार्यालय दैलेखले पनि बजारमा हुने अखाद्य वस्तुहरुको नियन्त्रणका लागि अनुगमन तिव्र बनाइएको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले खाद्यन्न मिसावट, ठगी, कृर्तिम अभावको अवस्था नपाइएको भन्दै यदी त्यस्तो अवस्था भेटिए कसैलाई नछोडिने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सल्याले अनुगमनको क्रममा बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याइएको बताएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई अनुगमनको लागि कानुनी जटिलता रहेकाे बताउनुभयाे ।
दशै तिहारको मौका छोपेर खाद्य वस्तुमा चर्को मुल्य लिने, गुणस्तर हिन खाद्य वस्तु विक्रि वितरण गर्ने गरेको भन्दै नागरिकहरुबाट हरेक समयमा गुनासो आइरहन्छ ।