सुर्खेत, २७ असोज (जागरण) । सुर्खेतका तीनवटा स्थानीय तहका महिलाहरुले दशैँ–तिहारलाई लक्षित गरेर ५ हजारभन्दा बढी खसी काठमाडौँ र पोखरा निर्यात गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा रहेका विभिन्न महिला सहकारीमा आवद्ध महिलाहरुले पालेको ५ हजार ७ सय ३७ वटा १० करोड ४८ लाख १६ हजार २ सय ८७ रुपैयाँ बराबरको मूल्यमा खसी निर्यात गरेका हुन् ।
तीन वटा स्थानीय तहमा रहेका आठ वटा महिला सहकारीमा आवद्ध महिलाहरुले पालेको खसी काठमाडौं र पोखरा निर्यात गरिएको हो ।
महिलालाई व्यावसायिक र आत्मनिर्भर लागि कृषि तथा पशुपालन व्यवसायमा सहकारीहरुले आवद्ध गराएका छन् । महिलाहरुले सहकारीबाट ऋण लिएर कृषि तथा पशुपालनलाई व्यावसायिक गराउन थालेका छन् ।
सहकारीहरुकाले महिलाहरु र गाउँका अन्य कृषकहरुले पालेका खसी सहकारीले संकलन केन्द्र स्थापना गरेपछि कृषकहरुले उचित मूल्य पाएका छन् ।
महिलाहरुको सहकारीलाई साना किसानहरुको संस्था सवलीकरण परियोजना मार्फत प्राविधिक र बजारीकरणमा सहयोग गरिएको छ ।
उत्तरगंगा सामाजिक उधमी महिला सहकारी संस्था,उपहार सामाजिक उद्यमी महिला सहकारी, सफलता सामाजिक उद्यमी महिला सहकारी, सामाजिक उद्यमी महिला सहकारी, भेरीकिनारा सामाजिक उद्यमी महिला सहकारी, त्रिवेणी सामाजिक उद्यमी महिला सहकारी र लाटीकोइली सामाजिक उद्यमी महिला सहकारीबाट खसी पोखरा र काठमाडौं निर्यात भएका हुन् ।
सहकारीमा आवद्ध महिलाले अनिवार्य रुपमा बाख्रापालन गर्ने गरेका छन् । सहकारी मार्फत संकलन केन्द्र स्थापना भएपछि बाख्रापालन कृषकलाई राहत भएको छ ।
कृषकहरुले बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको बताएका छन् । संकलन केन्द्र मार्फत खसी बिक्री गर्दा उचित मूल्य पाउने भएकाले आफूहरुलाई राहत भएको कृषकहरुको भनाई छ ।
बराहताल गाउपालिका वडा न ८ कुनाथरीका चन्द्रा गौतमले गाउँमा संकलन केन्द्र स्थापना भएपछि आफूहरुलाई सहज भएको बताउनुभयो ।