सुर्खेत, ३ कार्तिक (जागरण) । लगातारको बर्षापछि आएको बाढीका कारण कर्णाली प्रदेशमा ७ जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बाढि पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन ।
पहिरोमा परेर हुम्लाका मात्रै ६ जनाको मृत्यु भएको छ भने कालिकोटका एकजनाको मृत्यु भएको र जुम्लाका एकजना बेपत्ता भएका छन ।
पहिरोमा परेर हुम्लाको खार्पुनाथ–५ खर्पेल गाउँका एकै घरका ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसपी माधव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाका अनुसार धनबिर शाहीको घरमाथीबाट आएको पहिरोमा परेर ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनबिर शाहीसहित ज्वाई कल बहादुर शाही, कल बहादुर शाहीकी श्रीमती आशा शाही शाहीकै छोराहरु बर्ष १३ का अइन्द्र शाही, बर्ष ५ का हुमेश शाही, बर्ष ३ जज बहादुर शाही रहेका छन ।
यस्तै, कालिकोट महाबै गाउँपालिका बस्ने बर्ष १८ की स्मृती शाहीको पनि मृत्यु भएको छ भने हिमा गाउँपालिका ६ बागबजारका रिम्ना शाहीलाई हिमा नदीले बगाउँदा बेपत्ता भएका छन ।
खर्पेलगाउँ स्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति पहिरो खसेको थियो ।
रातिको समयमा उद्धार गर्न कठिनाइँ भएपछि आज विहान मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो । गोठमा रहेका पशु चौपायमा भने क्षती नभएको प्रहरीको भनाई छ ।
यसैबिच, कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ७ राम्रीका ६० घर पहिरोको उच्च जोखिममा परेका छन । ६० घरका २५० जनालाई गाउँकै एउटा मावीमा स्तानान्तरण गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
बर्षाले प्रदेशभर भएको क्षतीको विवरण संकलन भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
हुम्लाबाट पत्रकार जनक बहादुर शाहीको सहयोगमा ।